Thursday, April 16News That Matters

एमाले खोटाङले नौ पालिकामा प्रमुखको उम्मेद्वार टुङ्ग्यायो, कुन पालिकामा को ?

खोटाङ, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले खोटाङका दशमध्ये नौ पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुखको उम्मेद्वार टुङ्गो लगाएको छ । एमाले जिल्ला कमिटी स्रोतका अनुसार सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमारप्रसाद आचार्य र उपप्रमुखमा विणादेवी राईको नाम प्रदेश कमिटीलाई सिफारिस गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङको नाम सिफारिस गरेको एमालेले उपप्रमुखको उम्मेद्वार भने तोकेको छैन ।ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्षमा गिरेन्द्रबहादुर राई र उपाध्यक्षमा पुष्पकला भुजेल, केपिलासगढी गाउँपालिकाको अध्यक्षमा कृष्णकुमार राईको नाम सिफारिस हुँदा उपाध्यक्ष पदको उम्मेद्वारको नाम आएको छैन ।

रावाबेँसी गाउँपालिकाको अध्यक्षमा हरिकुमार पोख्रेल र उपाध्यक्षमा कौशिला गुरुङको नाम सिफारिस भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अध्यक्षमा लोकेन्द्र राईलाई सिफारिस गर्दा उपाध्यक्षको नाम आएको छैन । खोटेहाङ गाउँपालिकाको अध्यक्षमा कविता राई र उपाध्यक्षमा राजनकुमार बञ्जारा, जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा विमला राई, वराहपोखरी गाउँपालिकाको अध्यक्षमा गोमा मगरको नाम सिफारिस हुँदा उपाध्यक्षको उम्मेद्वार टुङ्गो लाग्न बाँकी छ ।

साकेला गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्ष दुवै टुङ्गो लाग्न बाँकी रहेको एमाले खोटाङले जनाएको छ ।