
खोटाङ, वैशाख १० । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणधीन पदम पुरी सहिद पार्क निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । लामो समयदेखि अलपत्र परेको भन्दै आलोचना खेपिरहेको पार्कको काम अहिले भने धमाधम भइरहेको हो ।
हलेसी तुवाचुङ नगरपालिका–१० आर्खौलेस्थित बिजुले बजारमा निर्माणधीन रहेको सहिद पार्क करिब ६/७ वर्ष अघिदेखि निर्माण गर्न सुरु गरिएको स्थानीयले बताएका छन् । पहिले सडकभन्दा माथिल्लो जग्गामा पार्क निर्माण सुरु गरिएको थियो । जहाँ अहिले पनि एउटा पिल्लर निर्माण गरेको देख्न सकिन्छ । तर सडक फराकिलो बनाएर कालोपत्रे गर्दा सडकभन्दा माथिल्लो जग्गामा पार्क निर्माण गर्न नमिल्ने भएपछि अहिले सडकभन्दा तल निर्माण गरिएको अर्खौलेका वडाध्यक्ष ज्ञानबहादुर पुरीले बताउनुभयो ।
अन्य निकायको सहयोगमा स्थानीयबासीले निर्माण सुरु गरेको पार्क स्थानीय तह आएसँगै अहिले हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समितिबाट निर्माण भइरहेको छ । पार्क निर्माणका लागि नगरपालिकाले तीन आर्थिक वर्षमा करसहित ५७ लाख बजेट विनियोजन गरिसकेको छ । बीचमा कोरोना भाइरसका कारण केही समय निर्माण हुन नसकेको पार्कको काम अहिले भने धमाधम भइरहेको उपभोक्ता समितिका अध्यक्ष भूूमिराज पुरीले बताउनुभयो ।
पार्कभन्दा तल र माथि वाल निर्माणसँगै मैदान सम्याउने काम सम्पन्न भएर अहिले पोखरी निमार्णको काम भइरहेको उहाँको भनाइ छ । पोखरीको बीचमा टिम्मुरबोटे हत्याकाण्डमा सहिद हुनुभएका पदम पुरीको शालिक राखिनेछ । साथै शालिकसम्म जाने पुल पनि निर्माण हुनेछ । पोखरीभन्दा माथि चिल्डे«न पार्क र गाडी पार्किङ स्थल निर्माण हुनेछ ।
५९ मिटर लम्बाइ र ३० मिटरको चौडाइ रहेको पार्क निर्माणसँगै सो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्ने स्थानीयको विश्वास छ ।

