Thursday, April 16News That Matters

शैक्षिक प्रमाणपत्र कीर्ते गरी अनलाइन सञ्चालन गर्ने मनोज गिरी पक्राउ

खोटाङ, वैशाख ६ – शैक्षिक प्रमाणपत्र कीर्ते गरी ‘हलेसीपाटी डट कम’ नामक अनलाइन पोर्टल सञ्चालनको स्वीकृति लिएका हलेसी तुवाचुुङ नगरपालिका–७, महादेवस्थानका ३६ वर्षीय मनोज गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा परेको उजुरीका आधारमा सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसिरहेको अवस्थामा उनलाई काठमाडौँ महानगरपालिका–३२, पेप्सीकोलाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले पक्राउ परेका गिरीमाथि जिल्ला अदालत खोटाङबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

गिरीले ब्रिलियन्ट मल्टिपल क्याम्पस, सिफल, काठमाडौँबाट व्यवस्थापन संकायमा स्नातक तहसम्मको अध्ययन गरेको भनी सूचना तथा प्रसारण विभागमा अर्काको कागजात कीर्ते गरी पेश गरेको खुलेको थियो । उक्त क्याम्पसबाट कुभेशचन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोज गिरीले विभागमा पेश गरेको प्रमाणपत्रमा सबै कुरा समान पाइएको छ । गिरी स्वयंले पनि आफूले प्रमाणपत्र कीर्ते गरेको स्वीकार गरिसकेका छन् ।

कीर्ते गर्ने व्यक्तिलाई लिखत सम्बन्धी कसुर बमोजिम ७० हजार जरिवाना र ७ वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ ।