खोटाङ, वैशाख ५ । स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति जुटेको छ । निर्वाचनमा गठनबन्धनलाई कायम राख्न सहमत भएका दलहरू अन्ततः चुनावमा तालमेल गर्न तयार भएका हुन् ।
गत चैत १६ गते जिल्ला समन्वय समितिको सभाहलमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई कायमै राख्ने निर्णय गरेको थियो । त्यसयता पटकपटक तालमेलबारे छलफल गर्न गठबन्धन दलको बैठक बसे पनि सहमित जुट्न सकेको थिएन । आइतबार राति साढे ११ बजे बसेको चार दलको बैठकले निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो ।
बैठकले तालमेलको मोडालिटीसमेत टुंगो लगाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा ४ पालिकामा कांग्रेसबाहेकको गठबन्धन बन्ने भएको छ । हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित कांग्रेस एक्लै लड्दा अरू तीन दलले एकअर्कालाई सहयोग गर्ने सहमति भएको हो । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादीका प्रमुख र उपप्रमुखका उम्मेद्वारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्दा साकेला गाउँपालिकामा माओवादीका अध्यक्ष र जसपाका उपाध्यक्ष, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष र जसपाका उपाध्यक्षलाई एकअर्काले सहयोग गर्नेछन् ।
बाँकी ६ पालिकामा भने चार दलीय गठबन्धन बनेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐँसेलुुखर्क, खोटेहाङ, वराहपोखरी र जन्तेढुंगा गाउँपालिकामा भने चार दलबीच नै गठबन्धन गर्ने सहमति भएको हो । यीमध्ये तीनमा कांग्रेस र तीनमा माओवादीले प्रमुखको उम्मेद्वार पाउनेछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, वराहपोखरी गाउँपालिकामा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐँसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पदको उम्मेद्वार दिने गठबन्धन दलले सहमति गरेका छन् ।
पालिकामा तालमेल र भागबण्डाको विषय टुंगिए पनि कहाँ कसलाई उम्मेद्वार बनाउने भन्ने टुंगो लाग्न बाँकी छ । उक्त विषय आजभित्रै टुंगो लाग्ने गठबन्धन दलका एक नेताले बताउनुभयो । जिल्लाका ७९ वडाहरूमा भने तालमेल र भागबण्डाको विषय छलफलकै क्रममा छ । उक्त विषय पनि भोलिभित्र टुंगो लगाइने गठबन्धन दलका नेताले बताएका छन् ।
