खोटाङ, वैशाख १३ । नेपाली कांग्रेसबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले उम्मेदवारी फिर्ता गर्नुभएको छ । केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमिति उपसभापति तीर्थराज भट्टराईलाई मेयरको आधिकारिक उम्मेदवार घोषणा गरेसँगै पोखरेलले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । बुधबार अपराह्न दिक्तेलमा पत्रकार सम्मेलन गरेर पोखरेलले आफूले पार्टीको तर्फबाट नगरपालिकाको मेयरमा दिएको उम्मेदवारी फिर्ता लिने जानकारी गराउनुभएको हो ।
प्रदेश कार्यसमितिमा सिफारिस भएका १६ जनामध्ये मेयरका अर्का आकांक्षी भट्टराईले टिकट नपाएपछि उहाँ पक्षका कार्यकर्ता आन्दोलित बनेका थिए । पोखरेलले टिकट पाएको जानकारी लगत्तै असन्तुष्ट उनीहरूले सोमबार बिहान दिक्तेलस्थित कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।
दिउँसो प्रदेशबाट टिकट लिई हेलिकोप्टर चढेर मनोनयन दर्ताका लागि आउनुभएका पोखरेललाई दिक्तेलस्थित हेलिप्याड ओर्लिनासाथ भट्टराई पक्षका कार्यकर्ताले झोला खोस्दै हातपातसमेत गरेका थिए । प्रहरीको सुरक्षामा पोखरेलले सोही दिन बेलुका मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत पुगेर मनोनयन दर्ता गर्नुभएको थियो । त्यसको केही बेरमा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले भट्टराई नै आधिकारिक उम्मेदवार रहेकाले सोहीअनुसार उम्मेदवारी कायम गरिदिन भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाउनुभएको थियो । उक्त पत्र लिएर सोही दिन भट्टराईले पनि मनोनयन दर्ता गर्नुभएको थियो ।
एउटै पार्टीबाट पोखरेलको प्रदेश र भट्टराईको केन्द्रले दिएको टिकटका आधारमा दुई जनाको मनोनयन दर्ता भएपछि आधिकारिक उम्मेदवार को भन्नेमा विवाद थियो । विवाद नसुल्झेपछि मंगलबार पुनः सभापति देउवाले पोखरेलको नाम उम्मेदवारको सूचीबाट हटाएर भट्टराईको कायम गर्न भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गर्नुभएको थियो । चौतर्फी दबाबपछि अन्ततः पोखरेलले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
‘एउटा पार्टीको तर्फबाट २/२ जनाको उम्मेदवारीले नगरबासी दाजुभाइ दिदीबहिनी र नेपाली कांग्रेसका नेता कार्यकर्तामा समेत चिन्ता र अन्योलता छाएको छ,’ पत्रकार सम्मेलनपछि पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘यो अन्योलता र चिन्ताप्रति म बेखबर अनि गैरजिम्मेवार बन्न सकिनँ । हामी आपसमा लड्नुभन्दा लोकतन्त्र र विकासविरोधी शक्तिहरूसँग लड्नुछ ।’
प्रतिगमनको विरुद्धमा कांग्रेसमात्र नभएर गठबन्धन आबद्ध दलसँग एकताबद्ध भई अगाडि बढ्नुपर्ने दायित्व आफूहरूको काँधमा रहेकाले जिल्लाका कांग्रेस नेताहरूसँगको गहन छलफल र उम्मेदवारी फिर्ता गर्न आफूलाई आएको आग्रहअनुसार आफूले उम्मेदवारी फिर्ता लिएको पोखरेलको विज्ञप्तिमा उल्लेख छ । नगरको विकासका सन्दर्भमा आफूले देखेका सपना र बनाएका योजना भट्टराईमार्फत पूरा हुने विश्वास व्यक्त गर्दै पोखरेलले आफ्ना उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन पनि आग्रह गर्नुभएको छ ।
यता मेयरका उम्मेदवार भट्टराईले नगरप्रमुखका विषयमा रहेको अन्योल र असहजता चिर्न सफल भएर कांग्रेसले पत्रकार सम्मेलनमार्फत निकास निकालेको बताउनुभएको छ । सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उहाँले यसमा त्याग गर्ने पार्टीका नेता पोखरेलसहित नगरप्रमुखका आकांक्षी, पार्टीका शीर्षस्थ नेतृत्व, शुभेच्छुक–शुभचिन्तक सबैलाई आभार प्रकट गर्नुभएको छ । सोमबार पोखरेलमाथि कार्यकर्ताले आकस्मिक रूपमा गरेको अभद्र व्यवहारप्रति दुःख व्यक्त गर्दै बीचमा भएका सबै घटनाक्रम र असहज परिस्थितिलाई गहनतापूर्वक स्वीकार गर्ने प्रतिबद्धता भट्टराईले व्यक्त गर्नुभएको छ ।


