Wednesday, April 29News That Matters

‘सरकारी सुविधा लिन्न, वराहपोखरी–१ लाई नमुना वडा बनाउँछु’

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खोटाङको वराहपोखरी गाउँपालिका, वडा नं. १ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट ढकबहादुर कार्कीले उम्मेदवारी दिनुभएको छ । लामो समय शिक्षण पेशामा आबद्ध कार्की २०७४ सालको स्थानीय तहको निर्वाचनबाट राजनीतिमा आउनुभएको हो । साविकको वडा नं. ५, डाँडाखर्कस्थित डाँडाखर्क आधारभूत विद्यालयको प्रधानाध्यापकबाट राजीनामा दिएर राजनीतिमा होमिनुभएका कार्कीसँग २७ वर्ष लामो समय शिक्षण पेशाको अनुभव छ । गत निर्वाचनमा नेकपा एमालेका टंककुमार मगरसँग वडाध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभएका कार्की सरकारी सुविधा नलिने घोषणासहित यसपटक फेरि वडाध्यक्षको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ । उनै कार्कीसँग रुपकोटखबरका पवन खड्काले गरेको कुराकानी :

वडाध्यक्षमा तपाइँको उम्मेदवारी किन ?
संक्षिप्तमा भन्ने हो भने सेवा क्षेत्र भनिएको राजनीतिलाई कमाइ गरी खाने भाँडो बनाइँदै लगिएको छ । यस परिपाटीको अन्त्य गर्दै निष्ठापूर्वक समाज सेवाको राजनीति गर्नुपर्छ भन्ने मान्यता स्थापना र गरिबले पनि राजनीति गर्न सक्छन् भन्ने वातावरण तयार गर्नका लागि म राजनीतिमा आएको हुँ । लामो समयको शिक्षण पेशाबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई प्रयोग गरेर नागरिकको भाग्य र भविष्य बदल्नका लागि पनि वडाध्यक्षमा मेरो उम्मेदवारी हो । म निर्वाचित भएको पाँच वर्षमा वराहपोखरीलाई स्वच्छ, हराभरा, समृद्ध र समन्नत बनाउँछु । 

गत निर्वाचनमा वर्षौँदेखिको शिक्षण पेशा त्यागेर वडाध्यक्षमा उठ्नुभयो तर पराजित हुनुभयो । यसपालि जित्छु भन्ने आधार के-के छन् ?
पहिलो कुरा, म आफ्नो लाभका लागि नभई नागरिकको सेवाका लागि वडाध्यक्ष उठेको हुँ । निर्वाचित भइसकेपछि आफ्नो कार्यकाल नसकिएसम्म सरकारी सेवा सुविधा केही लिन्नँ । सरकारी सुविधाबापत प्राप्त हुने तलब भत्ताको रकम नागरिकको सेवा र वडाको विकास निर्माणमा खर्च गर्छु । कार्यालयीय प्रयोजनका लागि राज्यबाट प्राप्त हुने सवारी साधन पनि लिँदिँन, निजी प्रयोग गर्छु ।

दोस्रो, संघीयता कार्यान्वयनपछिको पहिलो २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नागरिकलाई सेवकभन्दा बढी शासकको रूपमा व्यवहार गरे । अधिकांश जनप्रतिनिधिले आम जनअपेक्षा र माग सम्बोधन गर्न सकेनन् । नागरिकले आफूलाई दिएको मतको अनादर गरे । जसकारण नागरिकहरू विगतको नेतृत्वबाट असन्तुष्ट छन् । यस किसिमको गलत कार्य मबाट कदापि हुने छैन । नागरिकले आफूलाई दिएको मतको उच्च कदर गर्दै काम गर्नेछु । दलीय स्वार्थ नलादी सबैलाई समान दर्जामा राखेर सेवा प्रवाहलाई निश्पक्ष, चुस्तदुरुस्त र प्रविधिमैत्री बनाउँछु ।

तेस्रो, भ्रष्टाचार र अनियमितताका सवालमा शून्य सहनशीलताको नीति लिन्छु । आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भन्ने कुरालाई नारामै सीमित रहन नदिएर व्यवहारमै कार्यान्वयनमा ल्याउनेछु ।

चौथो, समग्र वडाको विकासका लागि आम नागरिकको माग र आवश्यकतालाई प्राथमिकतामा राखेर समानुपातिक विकासमा जोड दिनेछु । मेरो जितका लागि यिनै आधार पर्याप्त छन् । जनताले गलत पात्र र प्रवृति परिवर्तन गर्न खोजिरहेका छन् । पात्र र प्रवृति परिवर्तन गर्ने यो सुनौलो अवसर हो । विपक्षीले ल्याउनेभन्दा दोब्बर बढी मत ल्याएर जित्छु ।

वडाको विकासका लागि तपाइँका मुख्य एजेन्डा के–के हुन् ?
म कुराअनुसार काम र कामअनुसार कुरा गनुपर्छ भन्ने मान्यता राख्छु । कामभन्दा बढी कुरा गर्ने बानी मलाई मन पर्दैन । र, म झुटा आश्वासन दिन पनि जान्दिनँ । विकासका आधारभूत पूर्वाधारहरू शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, भौतिक पूर्वाधार विकासलाई घोषणापत्रमै हामीले मुख्य प्राथमिकतामा राखेका छौँ । हुन त पाँच वर्षको अवधिमा विगतको नेतृत्वले यी कामहरू गरिसकेको हुनुपथ्र्यो । तर, त्यसो हुन नसक्दा वडा विकासमा थप पछि पर्यो । यदि यी कामहरू भइसकेका भए म निर्वाचित भएर आउँदै गर्दा विकासका अरू कामहरू अगाडि बढाउन सहज हुने थियो । पहिलो नम्बरमा विगतको नेतृत्वले गर्न नसकेका यी कामहरू गरेर आवश्यताअनुुसार अन्य काम अगाडि बढाउनेछु ।

यी कुराहरूमा थोरै विषयगत चर्चा पनि गरौँ । पछिल्लो समय विद्यालयलाई राजनीति गर्ने अखडा जस्तो बनाइएको छ । शिक्षण संस्थाहरूमा बढ्दो राजनीतिकरणले शैक्षिक गुणस्तर खस्कँदो छ । फलस्वरूप विद्यार्थीहरूको भविष्य अन्धकारतिर धकेलिँदैछ । सैद्धान्तिक घोकन्ते शैलीको शिक्षाले विद्यार्थीहरूलाई शिक्षित बनाउनेभन्दा तनाव दिने गर्छ । उनीहरू यो जञ्जिरबाट कसरी मुक्त हुने भन्ने उपाय खोजिरहेका हुुन्छन् । यसरी व्यक्तित्व विकासको मूल आधार शिक्षामा नै विद्यार्थीहरूको आकर्षण घट्दै जानु चिन्ताको विषय हो ।
शिक्षा क्षेत्रमा देखिएको यस किसिमको विकृति र विसंगति अन्त्य गर्दै विद्यालयलाई यथार्थमै ज्ञान आर्जन गर्ने थलोका रूपमा विकास गर्नका लागि आवश्यक कामहरू गर्नेछु । सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षा आर्जन गरी विद्यार्थीको उज्जवल भविष्य सुनिश्चित हुने हिसाबले विद्यालयमा शिक्षाको व्यवस्थाका लागि कामहरू म र मेरो नेतृत्वबाट हुनेछन् । शिक्षामा आमूल परिवर्तन ल्याउन विद्यालयका सुविधा सम्पन्न र आधुनिक भवनहरू निर्माण गर्ने योजना छ । शिक्षकहरूलाई थप केही भत्ताको व्यवस्था गरेर शैक्षिक गुणस्तरमा सुधार ल्याउने योजना छ । स्थानीय आवश्यकताका आधारमा पाठ्यक्रम बनाएर पनि लागू गर्ने प्रयास हुुनेछ । माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क बनाउने योजना छ ।

उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने नागरिकको बाध्यता अन्त्यका लागि वडामै दक्ष चिकित्सकसहितको सुविधा सम्पन्न अस्पताल स्थापना गर्न आवश्यक पहल गर्नेछु । विकासका योजनामा सकभर मानव श्रम र शक्ति परिचालन गर्नेछु । यसबाट नागरिकलाई रोजगारी सिर्जना हुन्छ ।

वराहपोखरीका अधिकांश नागरिक कृषि पेशामा आश्रित छन् । निर्वाहमुखी परम्परागत खेतीलाई निरन्तरता र उत्पादित कृषि उपज बिक्री गर्ने बजारको अभावमा कृषिमा अपेक्षित प्रगति हुन सकेको छैन । किसानलाई कृषि पेशामा आकर्षित गर्न खेती गर्ने शैलीमा परिवर्तन ल्याउँदै उन्नत जातको बीउबिजन र कृषि औजार वितरण, कृषिबाट वार्षिक सबैभन्दा बढी आम्दानी गर्ने किसानलाई पुरस्कारको व्यवस्था गर्नेछु । कृषि उपजलाई सहज तवरले ढुवानी र बिक्री वितरणका लागि यातायात र बजारको व्यवस्था यही क्षेत्रमा गर्छु । यसबाट दिनभरको काम माया मारेर १ पाथी कोदो बिक्री गर्नसम्म छिमेकी गाउँपालिका जन्तेढुंगाको चिसापानीबजार पुग्नुपर्ने यस क्षेत्रका किसानको बाध्यता अन्त्य हुनेछ । यसका साथै अवस्था र आवश्यकता पहिचान गरी सिँचाइको सहज व्यवस्था मिलाउनेछु । कृषिबाटै राम्रो आम्दानी गरेर स्वरोजगार बन्न नागरिकलाई प्रेरित गर्छु । त्यसका लागि आवश्यक अनुदानको पनि व्यवस्था हुनेछ ।

वराहपोखरी प्रकृतिले निःशुल्क दिएको अनुपम उपहार हो । विश्वमै दुर्लभ रातो माछा वराहपोखरी तालमा पाइन्छ । पवित्र शंखेश्वर महादेव र विष्णु वराहीको मन्दिर यहीँ छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अथाह सम्भावना बोकेको भए पनि विगतको नेतृत्वको नजरबाट यो सधैँ छायाँमा पर्यो । देश विदेशका मानिसलाई दर्शन र अवलोकनका लागि सहज वातारण मिलाउँछु । पाँच वर्षभित्र वार्षिक न्यूनतम २ लाख पर्यटक भित्रिने गरी यसको संरक्षण, प्रर्वद्धन र विकास गर्छु । यसबाट आन्तरिक आय वृद्धि भई वडाको विकासमा थप टेवा पुग्नेछ । यसका साथै वडामा रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गरी संरक्षण, विकास र प्रवद्र्धन गर्नेछु ।

विगतको नेतृत्वले अलपत्र पारेका अधुरा आयोजनाहरूलाई पूरा गर्नेछु । टोल–टोलमा सडक र घर–घरमा विद्युत विस्तारको कार्य यथाशक्य चाँडो गर्नेछु । हरेक नागरिकको घरमा सफा र स्वच्छ खानेपानीको व्यवस्थाका लागि ‘एक घर : एक धारा’ अभियान तत्काल कार्यान्यवयनमा ल्याउनेछु । खेल क्षेत्रको विकासका लागि विशेष योजना र कार्यक्रम ल्याउनेछु । स्थान र आवश्यकता पहिचान गरी सार्वजनिक शौचालय र विश्रामालय निर्माण गर्नेछु । लक्षित वर्गले पाउने समाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउनेछु । वातावरण संरक्षणका लागि अनावश्यक वनविनाशमा रोक र खाली जमिनमा वृक्षरोपणको नीति ल्याउनेछु । नागरिक प्रत्यक्ष सहभागी भई लाभ लिने खालका कामहरू हुनेछन् । यी कामहरू गरेर पाँच वर्षभित्र वराहपोखरी–१ लाई नमुना वडा बनाउँछु ।

चुनावमा ठूलाठूला घोषणा हुन्छन् । तर, जितेपछि कार्यान्वयन हुँदैनन् । तपाइँले घोषणा कार्यान्वयन गर्नुहुन्छ कसरी भन्ने ?
म यहाँको स्थानीय बासिनदा हुँ । यहाँको समस्या र आवश्यकता मैले राम्ररी पहिचान गरेको छु । विगतमा पनि उम्मेदवारहरूले धेरै ठूला प्रतिबद्धता गर्नुभयो । तर, काम भएन । घोषणा ठूला गर्ने तर काम नगर्ने प्रवत्तिलाई चुनौती दिँदै काम गरेर देखाउन पनि म वडाध्यक्षको उम्मेदवार बनेको हुँ । म जितेपछि पनि आफ्ना प्रतिबद्धता बिर्सिन्नँ । कार्यान्वयन गरेर देखाउँछुु ।

‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान चुनावीताका आम नागरिकबाट बढी सुनिन्छ । यसको अर्थ नागरिकहरू नेतृत्वमा जोसुकै आए पनि केही फरक पर्दैन भन्ने सोच्दा रहेछन् भन्ने बुझिन्छ । तपाइँप्रति चाहिँ नागरिकले कसरी आशा र विश्वास राख्ने ?
हाम्रो यही बानी त खराब छ । सोच्नुपर्ने बेला सोच्दैनौँ अनि पछि पश्चात्ताप गर्छौँ । नेतृत्व चुन्दा ध्यान नपुर्‍याउने अनि सत्तामा पुगेपछि आफैँले चुनेका नेतृत्वको सत्तोसराप गर्ने । यो भनेको नागरिकले आफूलाई प्राप्त मताधिकार प्रयोगमा विवेक नपुर्‍याउँदाको परिणाम हो । पाँच वर्षमा एकपटक चुनाव आउँछ । चुनावको बेला ‘सक्षम नेतृत्व छानौँ’, ‘हाम्रालाई होइन राम्रालाई रोजौँ’, ‘पार्टी होइन व्यक्ति छानौँ’ जस्ता नारा खुब चल्छन् । तर, मतदान गर्ने बेला बुद्धिमा बिर्को लगाएर कसैको क्षणिक उक्साहट र प्रलोभनमा परी मतदान गछौँ ।

हाम्रो वडामा गत चुनावबाट निर्वाचित नेतृत्वले गरेका काममा नागरिकको असन्तुष्टिबाहेक केही सुनिदैनँ । सेवा प्रवाहमै पनि दलीय स्वार्थ लादिएको सुन्नमा आएका छन् । यसको अर्थ विगतको नेतृत्वबाट नागरिकको माग र अपेक्षा सम्बोधन हुन सकेन भन्ने हो । पाँच वर्षको अवधिमा सडक र विद्युत जस्ता विकासका मुख्य पूर्वाधार नै तयार भइसकेका छैनन् । कतिपय ठाउँमा नागरिकहरू अझै पनि सोलार बत्ती बालिरहेका छन्, सामान्य कामका लागि पनि घण्टौँको कष्टकर पैदलयात्रा गरिरहेका छन् । आधा दशकमा नागरिकका यी सामान्य माग र आवश्यकता पनि सम्बोधन हुन नसक्नु भनेको ठूलो दुर्भाग्य हो ।

मैले यसअघि नै भनिसकेँ, म आफ्नो लाभका लागि नभई नागरिकको सेवाका लागि वडाध्यक्ष उठेको हुँ । निर्वाचित भइसकेपछि आफ्नो कार्यकाल नसकिएसम्म सरकारी सुविधा लिँदिनँ । बिना पारिश्रमिक निःस्वार्थ भावले नागरिकको सेवा गर्छु । मप्रति आशा र विश्वास राख्ने/राख्नुपर्ने योभन्दा ठूलो आधार अरू के हुन सक्छ ? त्यसैले निर्धक्क रूख चिह्नमा भोट हालेर म र मेरो प्यानललाई बहुमतले विजयी गराउन वडाबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा अपिल गर्दछु ।