Thursday, April 16News That Matters

हलेसीमा कांग्रेसविरुद्ध चारदलीय गठबन्धनको पनि पिताम चलेन, मेयरमा विमला, उपमेयरमा रमेश

खोटाङ, जेठ ५ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चारदलीय गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा विमला राई र उपप्रमुखमा रमेश राउत निर्वाचित भएका हुन्। विमलाले ६ हजार ३१७ मत पाउँदा एमालेका खडेन्द्र राईले ५ हजार ९६६ मत ल्याए।
खडेन्द्र नगरप्रमुखमा दोस्रोपटक पटक पराजित भएका हुन्। विमला यसअघि उपमेयरमा निर्वाचित भएकी थिइन्। खडेन्द्र यसअघि पनि कांग्रेसकै उम्मेदवार इवन राईसँग झण्डै ४ सय मतले पराजित भएका थिए। त्यतिबेला इवनले ४ हजार ३९७ मत र खडेन्द्रले ३ हजार ९९९ मत पाएका थिए।
माओवादीका हरि गिरीले १ हजार ६८६ मत पाएका थिए। यसपटक माओवादीको समेत साथ पाउँदा पनि खडेन्द्र निवार्नचित हुन सकेनन्।
विमलाले भने २०७४ सालमा सर्वाधिक मत पाएकी थिइन्। त्यतिबेला उनले ४ हजार ४८६ मत ल्याएर निर्वाचित भएकी थिइन्।
यस्तै उपप्रमुखमा निर्वाचित राउतले ५ हजार ९३४ मत पाए। उनले माओवादीका अमेम्बर राईलाई पराजित गरेका हुन्। अमेम्बरले ५ हजार ६६१ मत पाए।
एमालेले उपमेयरमा र माओवादीले मेयरमा पनि उम्मेदवारी दर्ता गरेका थिए। तर पछि आफ्ना उम्मेदवारलाई मत नमागि गुपचुप गठबन्धन गरेका थिए।
केन्द्रमा बनेको ५ दलीय गठबन्धनमा गठबन्धन बाहिरका दलसँग नमिल्ने भनेपनि हलेसी तुवाचुङ नगरपालिकामा भने गठबन्धनकै तीन दल माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एमालेसँग वडा तहसम्मै तालमेल गरेका थिए।
कांग्रेसविरुद्ध गठबन्धन गरेका दलहरु हलेसीमा कमजोर देखिएका छन्। नगरपालिकाका ११ मध्ये ३ वटामा गठबन्धनका उम्मेदवार र ८ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।