खोटाङ, जेठ ५ । जनता समाजवादी पार्टी (जसपा) हलेसी तुवाचुङ नगर समितिले स्थानीय तहको निर्वाचन, २०७९ मा हलेसी तुवाचुङ नगरपालिकामा कुनै पनि दलसँग गठबन्धन नगरेको स्पष्ट पारेको छ । पार्टीले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै आफू एक्लै चुनावमा लडेको जनाएको हो ।
हलेसी तुवाचुङ नगरपालिकामा आ–आफ्ना उम्मेदवार उठाए पनि माओवादीले एमालेलाई मेयरमा र एमालेले माओवादीलाई उपमेयरमा भोट माग्दै हिँडेको खुलेको थियो । यसमा एकीकृत समाजवादीले पनि सघाएको बताइएको थियो । पछि जसपाले पनि तीन दलसँग तालमेल गरेको भन्ने समाचार आएका थिए । जसपाले त्यसमा कुनै सत्यता नभएको बताएको हो ।
“हलेसी तुवाचुङ नगरपालिका–८ मा जसपा नेपालले आफूलाई अध्यक्ष पदमा स्वीकार गर्ने अन्तर दललाई २/२ सदस्य दिई स्थानीय तहको नेतृत्वका सहजतामा तालमेल गरी एकअर्कामा सहयोग गरागर गर्ने भनी सहमति बन्यो,” जसपा हलेसी तुवाचुङ नगर समितिका अध्यक्ष मविन्द्र राई र सचिव दुर्गा राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “तर जसपा नेपालले हलेसी तुवाचुङ नगरपालिकाको सम्बन्धमा कुनै दलसँग आधिकारिक गठबन्धन वा गुपचुप गठबन्धन नगरेको स्पष्ट पार्न चाहन्छौँ ।”
हलेसी तुवाचुङ नगरपालिकाको स्थानीय निर्वाचनमा मत पोलिङ हेर्दा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबीच गुपचुप गठबन्धन भएको पुष्टि भएको जसपाको विज्ञप्तिमा उल्लेख छ । “यी दलहरूले सम्पूर्ण पदमा उम्मेदवार उठाए पनि भोट लगाउँदा उम्मेदवार छानेर लगाएको पाइन्छ र भोट माग्ने क्रममा पनि सोही बमोजिम मागेको पाइन्छ,” जसपाले भनेको छ ।
हलेसी तुवाचुङका केही वामपन्थी र नेपाली कांग्रेसका कार्यकर्ताहरूले जसपाले पैसा लियो भन्ने निराधार र कपोलकल्पित अफवाह फैलाएर जसपाको जनमत घटाउने अनैतिक कार्य गरेर जसपाको नैतिकतामाथि दाग लगाउने कोसिस गरेको भन्दै जसपाले त्यसमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रमाण पुष्टि भएमा सम्बन्धितलाई कारबाही गर्ने चेतावनीसमेत जसपाले दिएको छ ।
हलेसी तुवाचुङमा एमाले–माओवादी–एकीकृत समाजवादीको अघोषित गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा विमला राई र उपमेयरमा रमेश राउत निर्वाचित भएका हुन् ।
यस्तो छ जसपाले जारी गरेको प्रेस विज्ञप्ति :

