Thursday, April 16News That Matters

खोटाङको पहिलो दल बन्यो कांग्रेस, माओवादी दोस्रो, एमाले तेस्रो

पवन खड्का
खोटाङ, ६ जेठ । स्थानीय तहको निर्वाचन, २०७९ मा सबैभन्दा बढी पालिकाको प्रमुख, उपप्रमुख र वडाको अध्यक्ष जितेर नेपाली कांग्रेस खोटाङको पहिलो दल बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ स्थानीय तहको प्रमुख, ३ स्थानीय तहको उपप्रमुख र २७ वडाको अध्यक्ष जितेर दोस्रो बनेको कांग्रेस यसपटक ६ स्थानीय तहको प्रमुख, ४ स्थानीय तहको उपप्रमुख र ३२ वडाको अध्यक्ष जितेर पहिलो बनेको हो ।

कांग्रेसले ३ स्थानीय तहको प्रमुख र १ स्थानीय तहको उपप्रमुख एक्लै लडेर र ३/३ स्थानीय तहको प्रमुख र उपप्रमुख नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजावदी पार्टी (जसपा) सँग गठबन्धन गरेर जितेको हो । वडाको अध्यक्ष भने धेरैमा एक्लै लडेर र थोरैमा गठबन्धन गरेर जितेको हो ।

गत निर्वाचनमा १ पालिकाको प्रमुख र १२ वडाको अध्यक्ष जितेर तेस्रो बनेको माओवादी यसपटक दोस्रो भएको छ । यसअघि ५ स्थानीय तहको प्रमुख, ७ स्थानीय तहको उपप्रमुख र ३७ वडाको अध्यक्ष जितेर जिल्लाकै पहिलो दल रहेको नेकपा एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ । केन्द्रमा एमालेले अन्य दलसँग गठबन्धन गरेको भए पनि जिल्लामा भने एक्लै लडेको थियो । पालिकामा समान २/२ स्थानीय तहको प्रमुख र उपप्रमुख जिते पनि वडाको अध्यक्षमा माओवादीले बढी पद जितेको छ । माओवादीले २३ वडाको अध्यक्ष जित्दा एमालेले भने १९ वडाको मात्रै अध्यक्ष जितेको छ । माओवादीले २ पालिका प्रमुख गठबन्धन गरेर र २ उपप्रमुखमध्ये १ गठबन्धन गरेर, १ एक्लै प्रतिस्पर्धा गरेर र धेरै वडाको अध्यक्ष एक्लै लडेर र केहीको गठबन्धन गरेर जितेको हो ।

गत निर्वाचनमा २ वडाको अध्यक्ष जितेको तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) ले यसपटक १ पालिकाको उपप्रमुखसहित २ वडाको अध्यक्ष जित्दा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले जसपासँग बराबर १ पालिकाको उपप्रमुख र २ वडाको अध्यक्ष नै जितेको छ । अघिल्लो निर्वाचनमा १ वडाको अध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक पुरानै पद पनि रक्षा गर्न सकेन । जिल्लाका ७९ वडामध्ये १ वडामा भने स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १३ दल दर्ता भएका थिए । जिल्लामा राष्ट्रिय मान्यता प्राप्तबाहेकका अन्य दलको प्रभाव नरहेकाले उम्मदेवारी दिए पनि कुनै पद जित्न सकेनन् ।