Friday, April 17News That Matters

हलेसी तुवाचुङ : सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी

नगर शिक्षा समितिको बैठक

खोटाङ, जेठ १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको छ । नगर प्रमुख विमला राईको अध्यक्षतामा बुधबार बसेको शिक्षा शाखा समितिको बैठकले यस्तो निर्णय गरेको हो । अंग्रेजी माध्यमबाट के कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा छलफलका लागि शुक्रबार सबै बिद्यालयका प्रधानाध्याप, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र ११ वटै वडाका वडाध्यक्षहरुलाई अन्तरक्रियाका लागि बोलाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपश्चात पहिलो पटक बसेको शिक्षा शाखा समितिको बैठकले शैक्षिक गुणस्तरकालागि अन्य ४ निर्णय समेत गरेको शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार अति न्यून विद्यार्थी भएका विद्यालयको समायोजन, कक्षा घटुवा गर्ने साथै बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवं शिक्षक व्यवस्थापन गर्ने निर्णय गरिएको छ । जसकालागि अध्यायन गरि प्रतिबेदन पेश गर्न सामाजिक विकास समिति संयोजक एवं शिक्षा समिति सदस्य रुद्र कुमार राइको अध्यक्षतामा ५ सदस्यीय समिति समेत गठन गरिएको छ ।

यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा शाखा र प्र.अ. वीच कार्य सम्पादन करार सम्झौता गर्ने, यथाशीघ्र वडा समितिहरु पुनर्गठन गर्ने र सबै विद्यालयको प्रत्येक कक्षामा लग बुक अनिवार्य लागू गर्ने निणर्य समेत बैठकले गरेको संयोजक कार्कीले बताउनुभयो ।