Friday, April 17News That Matters

मेयर राई र उपमेयर राउतको नेतृत्वमा हलेसी क्षेत्रको सरसफाइ

सरसफाइ गर्दै मेयर राई, उपमेयर राउत लगायत

खोटाङ, जेठ १९ । त्रिधार्मिक तपोभूमि हलेसी बजार क्षेत्रको सरसफाइ गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकका मेयर विमला राई र उपमेयर रमेश कुमार राउतको नेतृत्वमा आज सो क्षेत्रको सरसफाइ गरिएको हो । सरसफाइको लागि मेयर राई, उपमेयर राउत स्वयं फिल्डमा खटिनु भएको छ । अब हरेक बिहिबार बिहान ९ देखि ११ बजेसम्म सरसफाइ गरिने मेयर राईले जानकारी दिनुभयो ।

मेयर राईले भन्नुभयो “आफुले नगरि अरुले गर्दैनन्, हरेक काममा सुरुमा आफै अघि सर्ने हो त्यसैले म आफै फिल्डमा खटिएर आजबाट सरसफाइको सुरुवात गरिएको छ ।” सुन्दर र स्वच्छ हलेसी तुवाचुङ नगरपालिका बनाउन दीर्घकालिन सोच सहित आगामि दिनमा काम सुरु गरिने पनि उहाँको भनाइ छ । जसकालागि सरसफाइका कर्मचारी थप्ने, डम्पिङ साइड व्यवस्थापन गर्दै जाने सोच पनि नगरपालिकाले अघि सारेको उहाँले बताउनुभयो ।

हलेसी बजार क्षेत्र मात्र नभएर नगरपालिका भित्रका सबै बजार क्षेत्रमा सरसफाइ गरिनेछ । “हलेसी तुवाचुङ नगरपालिका भित्र जहाँ बस्ती विकास भएको छ, बजारिकरण भएको छ, त्यस्ता ठाउँमा नियमित सरसफाइ गरेर सुन्दर अनि स्वच्छ नगरपालिका हामी बनाउनेछौँ” मेयर राईले भन्नुभयो ।

आज भएको सरसफाइमा मेयर र उपमेयरसँगै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, वडा नं. ७ का वडा अध्यक्ष कमल गिरी, हलेसी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्कराज राई, हलेसी विकास समितिका निर्देशक सम्मर बहादुर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख एवं प्रहरी निरिक्षक सुनिल धाँजु, हलेसी होटल व्यवसायी संघका पदाधिकारीहरु, नागरिक समाज, टोल विकास समिति लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।