
खोटाङ, जेठ २० । सरकारले पालिका र प्रदेशमा पठाउने बजेटको टुङ्गो लगाएको छ । अर्थ मन्त्रालयले चार वटा अनुदानका शीर्षकमा प्रदेश र पालिका सरकारलाई आगामि आर्थीक वर्ष २०७९/०८० का लागि पठाउने बजेट टुङ्गो लगाएको हो ।
दुइ नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको खोटाङले समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी ३ अर्ब ६२ करोड १ लाख रुपैयाँ बजेट पाएको छ ।
जिल्लाको सबै भन्दा धेरै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६५ करोड १५ लाख र सबै भन्दा कम बराहपोखरी गाउँपालिकाले २४ करोड २४ लाख रुपैयाँ बजेट पाएको हो । हलेसी तुवाचुङ नगरपालिकाले ४९ करोड ६ लाख, एँेसेलुखर्क गाउँपालिकाले ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकाले २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकाले ४३ करोड १ लाख बजेट पाएका छन् । यस्तै जन्तेढुंगा गाउँपालिकाले २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ३७ करोड ९२ लाख, साकेला गाउँपालिकाले २५ करोड ६० लाख र रावा बेसी गाउँपालिकाले २८ करोड ७३ लाख बजेट पाएका हुन् ।
