Friday, April 17News That Matters

हलेसी तुवाचुङ : शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता

नगरपालिकामा भएको छलफल कार्यक्रम

खोटाङ, जेठ २० । शैक्षिक गुणस्तर सुधारका लागि हलेसी तुवाचुङ नगरपालिका र नगरपालिकाका सामु्दायिक विद्यालयका प्रधानाध्यापकहरूबीच कार्य सम्पादन करार सम्झौता भएको छ । दुर्छिमस्थित नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमकाबीच नगरपालिकाको शिक्षा शाखा र आधारभूत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकबीच विभिन्न महत्त्वपूर्ण विषय समेटिएको १४ बुँदे करार सम्झौता भएको हो । सम्झौतामा नगर शिक्षा संयोजक पदमबहादुर कार्की, विद्यालय रहेको वडाका वडा शिक्षा समिति अध्यक्ष र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका छन् ।

२०७९ चैत्र मसान्तसम्मका लागि प्रचलित नियम–कानुनमा भएको व्यवस्थाका अतिरिक्त आपसी समझदारीमा सम्झौता भएको नगर शिक्षा संयोजक कार्कीले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका १२ वटा माध्यमिक र ७७ वटा आधारभूत विद्यालयसँग सम्झौता गरिएको हो ।

सम्झौतामा विद्यालयको यथार्थ विवरणको प्रतिवेदन त्रैमासिक रुपमा शाखामा पेश गर्नुपर्ने, असार १ देखि प्रत्येक कक्षा कोठामा शिक्षण क्रियाकलाप पुस्तिका (लग बुक) मा तोकिएको लिखित विवरण राखी शिक्षण कार्यकलाप गर्ने, गराउने, असार १५ सम्ममा प्र.अ., शिक्षक तथा विद्यालय कर्मचारीको हस्ताक्षरसहित शिक्षा नियमावली तथा सोका अतिरिक्तको शिक्षक तथा विद्यार्थी आचारसंहिता बनाई देख्ने गरी सुरक्षित ठाउँमा राख्नुपर्ने उल्लेख छ ।

यस्तै काजमा खटिएका शिक्षक तथा कर्मचारिलाई खटाउनेले अनिवार्य रुपमा काज पत्र दिनु पर्ने साथै काज पत्रविना हाजिरीमा काज जनाउन नपाइने, प्रधानाध्यापकले प्रत्येक शिक्षकको महिनामा कम्तिमा १ पटक कक्षा अवलोकन गरेर तोकिएको ढाँचामा अभिलेख राखी सोको छायाप्रति त्रैमासिक प्रतिवेदन साथ पेश गर्ने, असार १५ सम्ममा प्रत्येक शिक्षक र प्र. अ. बीच कार्यसम्पादन करार सम्झौता गरी शाखामा जानकारी गराउने, असार मसान्तसम्म पाठ्यक्रम र शिक्षक निर्देशिका सबै विद्यालयमा अनिवार्य राखी सोको प्रयोग सुनिश्चित गर्ने, असार १५ भित्र वार्षिक कार्यपात्रो बनाउने तथा सबै विषयगत शिक्षकलाई वार्षिक कार्य योजना बनाउन लगाई प्रमाणित गरी सक्ने विषय सम्झौतामा समेटिएको छ ।

विद्यालयको कक्षा ५,८ र १० (पाँच कक्षाभन्दा कम कक्षा सञ्चालित विद्यालयको हकमा उच्च कक्षा) को औसत सिकाइ उपलब्धी न्यूनतम ग्रेड ‘डी प्लस’ भन्दा माथि पु¥याउने, तोकिएको पोशाक अनिवार्य लगाउने र सो सम्भव नभएको दिन सोको जानकारी प्र.अ.ले स्टाफलाई गराउने तथा अन्य शिक्षक कर्मचारीको हकमा प्र.अ. लाई लिखित जानकारी गराउने र पोशाक नलगाएको दिनको प्र.अ., शिक्षक तथा कर्मचारीको लिखित अभिलेख राख्ने, विद्यालयमा अनिवार्य रूपमा अभिभावक उपस्थिति पुस्तिका राख्ने, प्रत्येक विद्यार्थीका अभिभावकको नाम, ठेगाना तथा सम्पर्क नं. सहितको विवरण असार १५ भित्र शिक्षा शाखामा बझाउने, विद्यालयले अनिवार्य रूपमा मासिक स्टाफ बैठक राख्ने र अनिवार्य रूपमा विद्यालयको वार्षिकोत्सव मनाउने कुरा सम्झौतामा छ ।

यसै वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने तयारी

कार्यक्रममा नगरपालिकाका माध्यमकि तहका सामुदायिक विद्यालयमा यसै वषैदेखि कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपान गर्ने विषयमा पनि गहन छलफल भएको छ । छलफलमा सहभागीहरूले आ–आफ्नो राय दिएका छन् । आवश्यकताका आधारमा शिक्षक दरबन्दी र विद्यालय मिलान गर्नुपर्ने, शिक्षकको तलब बैंकिङ प्रणालीबाट मासिक रूपमा भुक्तानी गर्नुपर्ने लगायतका सुुझाव नगरपालिकालाई आएको छ ।

कार्यक्रममा बोल्दै नगरपालिकाकी प्रमुख विमला राईले विश्व बजारमा प्रतिस्पर्धामा उत्रिन सक्षम जनशक्ति उत्पादनका लागि नगरपालिकाका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने अवधारणा अघि सारिएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । विद्यालयमा राजनीतिकरण गर्ने छुट कसैलाई नरहेको उहाँको भनाइ छ । कुनै पनि बहानामा विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकलाई कडा कारबाही र जिम्मेवार भई उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकलाई सम्मान गरिने नगरप्रमुख राईले बताउनभयो ।

कार्यक्रममा नगरप्रमुख राईसँगै उपप्रमुख रमेशकुमार राउत, ११ वटै वडाका वडाध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, नगर शिक्षा शाखा संयोजक पदमबहादुर कार्की, नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरू, प्रधानाध्यापकहरू लगायतको उपस्थिति रहेको थियो ।