Friday, April 17News That Matters

किराँत पोसाकमा सजिएका मान्छे, रमाएको तुवाचुङ डाँडो


राजकुमार भट्टराई (सरगम)

खोटाङ, जेठ २१ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ डाँडा किराँत पोसाकले रङ्गिएको छ । करीब १४ वर्ष यता वर्षमा एक पटक किराँत पोसाकले रङ्गिदै आएको यो डाँडा कोरोना भाइरस (कोभिड–१९) को कारण बिगत दुई वर्ष रङ्गिन पाएको थिएन् । तर यो वर्ष पुनः तुवाचुङ डाँडाले आज एक दिन आफ्नो रङ्ग परिवर्तन गरेको छ ।

तुवाचुङ जयाजुम संरक्षण समितिको आयोजनामा भएको साकेला सिल्ली नाँचका कारण तुवाचुङ डाँडाले आफ्नो मुहार फेरेको हो । किराँती सांस्कृतिक थलो तुवाचुङ डाँडा किराँती पुर्खा तोयामा, खियामा र रैछाकुले बसेको भन्ने मान्यता छ । जसकारण किराँत उद्गम आदिम भुमि तुवाचुङ डाँडालाई मानिदै आएको किराँत समुदायको भनाइ छ ।

वर्षमा दुई पटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ‘उभौली’ र मंसिरमा जाडो छल्न बेँसीतिर बसाइँ सर्ने भएकाले उधौली भन्ने चलन छ । जसअनुसार किराँत समुदायले आज (शनिबार) वैशाख पुर्णिमाको औशिको पञ्चमी तिथीको अवसरमा तुवाचुङ डाँडामा साकेला नाँचेका छन् । धामी (नछुँङ) ले पुजा गरेर सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा, खुट्टा र हातको चाल मिलाउदै किराँत समुदायले साकेला नाँचेका हुन् ।

साकेला नाँचको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले गर्नुभएको थियो । उद्घाटन गर्दै मेयर राई, उपमेयर रमेश कुमार राउत, ११ वटै वडाका वडाध्यक्ष, खोटाङ जिल्लाका अन्य पालिकाका प्रमुख उपप्रमुख, बिभिन्न राजनीतिक दलमा आबद्ध नेता, बिभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिले साकेला नाँचेर सुरुवात गरेपछि बिभिन्न समुहले नाँच प्रदर्शन गरेका छन् । बृद्धबृद्धा देखि बालबालिका सम्म किराँत पोसाकमा सजिएर नाँचमा सहभागि भएका थिए । सोही कार्यक्रममा आयोजक तुवाचुङ जयाजुम संरक्षण समितिले नयाँ जनप्रतिनिधिहरुलाई बधाई साथै सफल कार्यकालको सुभकामना पनि दिएको छ ।

तुवाचुङ डाँडा किरातीहरुको कृषि सभ्यताको मूल थलो समेत मानिने किराँत समुदायको भनाइ छ । सोही कृषि सभ्यताको मुल थलो तुवाचुङ डाँडामा उभौलीको अवसरमा बाढी पहिरोबाट जोगाई दिनुहोस, अन्नबाली सप्रियोस, अनिकाल नलागोस्, सबैको आयु लामो होस् भन्दै धामी (नछुँङ)ले भूमि पुज्ने र आर्शिवाद माग्ने चलन रहेको छ ।

लामो समय पश्चात किराँत पोसाकले रङ्गिएको तुवाचुङ डाँडा किराँत र गैरकिरात समुदायका मानिसहरुले भरिभराउ थियो । खाडीको घरबुना दौरा–सुरुवाल, कोट, टोपी र मयूरको प्वाँखमा पुरुष सजिएका थिए भने छिट्को गुन्यू, ढाका पछ्यौरी, मखमल र ढाकाको चोलो, सेतो पटुकी, ढुंग्री, मड्यौरी, बुलाकी र सिक्काको मालाले महिला सजिएका थिए ।

छुट्टै मान्यता अर्थात बिशेषगरी किराँत समुदायको इतिहास बोकेको तुवाचुङ डाँडा पर्यटकीय क्षेत्र मानिन्छ । पर्यटकीय क्षेत्र तुवाचुङ डाँडा किराँत पोसाकमा सजिएका मानिसको भीड र साकेला नाँचले आज रङ्गिएको छ, रमाएको छ ।