Friday, April 17News That Matters

हौँचुर स्वास्थ्य चौकीलाई परदेशी युवाहरुको फ्रीज र बेड उपहार

खोटाङ, जेठ २८ । रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित हौँचुर स्वास्थ्य चौकीलाई फ्रीज र बेड प्राप्त भएको छ । रोजगारीको सिलसिलामा हाल परदेशमा रहेका सोही गाउँका युवाहरुले सो सामाग्री सहयोग गरेका हुन् ।

कतारमा रहनुभएका गजेन्द्र खालिङ राईको नेतृत्वमा पोर्चुगलमा रहनुभएका प्रेम राई, कतारमै रहनुभएका संगम कार्की, शान्तीराम नेपाल, मदन गुरुङ, डिक बहादुर गुरुङ, होमकाजी गुरुङ, राजकुमार राई, रबिन गुरुङ र सन्तोष खालिङ राईको समुहले रु ४५ हजार बराबरको उक्त सामाग्री प्रदान गर्नुभएको हो । हाल ललितपुरमा बस्दै आउँनु भएका सोही गाउँका सम्मर खड्काको पनि सहयोग रहेको समुहको नेतृत्व गर्नुभएका राईले बताउनुभयो ।

प्राप्त सामाग्री सहगोगिदाता मध्येका एक खड्का र वडाध्यक्ष चिरञ्जीवि कार्कीले स्वास्थ्य चौकीलाई हस्तान्त्रण गर्नुभएको छ । यसअघि उपचारमा आएका बिरामी सुत्ने बेडको अभाव र औषधी राख्न फ्रीजको अभाव रहेको थियो । अब सो सामाग्री प्राप्त भएपछि तत्कालका लागि समस्या समाधान भएको स्वाथ्य चौकीका इञ्चार्ज रिता जिरलले बताउनुभयो ।