Thursday, April 16News That Matters

जिसस खोटाङको प्रमुखमा जसपाका सनबहादुर र उपप्रमुखमा माओवादीका सुरेश

प्रमाणपत्र लिएपछि जिसस खोटाङका नवनिर्वाचित पदाधिकारी

खोटाङ, जेठ ३० – जिल्ला समन्वय समिति (जिसस) खोटाङमा गठबन्धनका उम्मेदवार वियजी भएका छन् । जिससको प्रमुख, उपप्रमुख र सदस्य सबैमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका हुन् ।

सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनबाट प्रमुखमा जसपाका सनबहादुर राई निर्वाचित हुनुभएको छ । जिल्लाका दुई नगरपालिकाका प्रमुख/उपप्रमुख र आठ गाउँपाकिाका अध्यक्ष/उपाध्यक्ष गरी २० जना मतदाता थिए । जिसस प्रमुखमा निर्वाचित सनबहादुरले प्रतिस्पर्धी नेकपा एमालेका किशोर श्रेष्ठलाई १२ मतले पछि पार्नुभयो । सनबहादुर १६ मत ल्याएर विजयी हुँदा किशोरले ४ मत प्राप्त गर्नुभयो ।

जिसस उपप्रमुखमा गठबन्धनबाट माओवादीका सुरेश तामाङ विजयी हुनुभएको छ । सुरेशले १६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका  सन्तोष राईले ४ मत ल्याउनुभयो ।

जिससको सदस्यहरूमा भने अरू दलले उम्मेदवारी नदिएपछि गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यमा कांग्रेसका दुर्गा घिमिरे, ज्ञानेन्द्र राई र मोहन सुप्तीहाङ, खुला महिला सदस्यमा कांग्रेसकी कला राई र एकीकृत समाजवादीकी दिलकुमारी राई र दलित सदस्यमा माओवादीकी चेमली विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।

नवर्विाचित जिसस प्रमुख, उपप्रमुख र सदस्यहरूलाई सोमबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पद तथा गोपनीयताको शपथ खुवाएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुई नगरपालिकासहित ६ स्थानीय तहको प्रमुख र ४ स्थानीय तहको उपप्रमुखमा विजय हासिल गरेको थियो । कांग्रेसले ३ स्थानीय तहको प्रमुख र १ स्थानीय तहको उपप्रमुख एक्लै लडेर र ३/३ स्थानीय तहको प्रमुख र उपप्रमुख गठबन्धन गरेर जितेको हो ।

माओवादी र एमालेले समान २/२ स्थानीय तहको प्रमुख र उपप्रमुख जितेका थिए ।