
खोटाङ, असार ७ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आगामि बजेट बारे सर्वदलीय छलफल गरेको छ । आर्थीक वर्ष २०७९/०८० को बजेट ल्याउन लागेको नगरपालिकाले आज नगरपालिकाको सभाहलमा सर्वदलीय छलफल गरेको हो ।
सबैको राय, सल्लाह र सुझावले नागरिकको आधारभूत आवश्यकता, पारदर्शिता र सुशासन कायम गर्न सकिने भएको कारण सर्वदलीय छलफल गरिएको मेयर विमला राईले बताउभयो । मेयर राईले भन्नुभयो, “निर्णय गर्ने ठाउँमा जनप्रतिनिधि छौँ तर सबैको सल्लाह र सुझाव अनुसार चलियो भने हरेक क्षेत्रमा राम्रो हुने भएकाले हामीले सर्वदलीय बैठक आह्वान गरेका हौँ ।”
आज सम्पन्न सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी लगायतका पार्टीका नगर सभापति एवं पार्टी प्रतिनिधिहरुले सल्लाह सुझाव राख्नु भएको थियो । सबै जनतालाई समान हुने गरी बजेट बिनियोजन, ब्यवहारिक शिक्षा, आधुनिक कृषी, माटो परिक्षण गरेर खेती गरिनु पर्ने, कागजमा भन्दा पनि खेतबारीमा काम गर्ने कृषकलाई अनुदान दिनुपर्ने नीति कार्यक्रम ल्याउन सुझाव आएको छ । यस्तै सबै वडासम्म सधै सञ्चालन हुने सडक निर्माण, सडक निर्माणमा मेशिन भन्दा पनि जनताको सहभागिता, भौतिक विकाससँगै मानवीय र उत्पादन तथा रोजगारसँग जोडिने विकास हुने गरी बजेट ल्याउन सर्वदलीय बैठकबाट सुझाव आएको छ । यस्तै दीगो विकास, फोहोरको दीगो व्यवस्थापन, आकर्षक पर्यटकीय गन्तव्य निर्माण र राजनीतिक दलले चुनावी समयमा निर्माण गरेका घोषणापत्रलाई ब्यवहारमा लागू गर्न सुझाव आएको छ ।
आज प्राप्त सल्लाह सुझावलाई वार्षिक रुपमा कार्यक्रममा समावेश गर्ने र वार्षिक रुपमा त्यसको समिक्षा पनि सर्वदलीय मार्फत नै गरिने मेयर राईले प्रतिबद्धता जनाउनु भएको छ । नगरपालिकाले आगामि आर्थीक वर्षको नीति तथा कार्यक्रम (बजेट) यहि असार ९ गते ल्याउने तयारी गरेको छ ।
