
खोटाङ, असार १० । रावा बेसी गाउँपालिकाले आर्थीक वर्ष २०७९/८० का लागि ३८ करोड ३९ लाख २ हजार २३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका केन्द्र हरमटारमा आज सम्पन्न ११ औँ गाउँसभाबाट गाउँपालिका अध्यक्ष फट्टिक कुमार श्रेष्ठले पेस गर्नुभएको निती तथा कार्यक्रम र उपाध्यक्ष कौशिला कुमारी गुरुङले पेस गर्नुभएको उक्त बजेट पारित भएको हो ।
उपाध्यक्ष गुरुङले पेस गर्नुभएको बजेटमा गाउँपालिकाको आन्तरिक आयबाट प्राप्त रु ४० लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त राजश्व बाडफाँड रु ७ करोड १२ लाख ९३ हजार २३ अनुमान गरिएको छ भने संघीय सरकार वित्तिय समानिकरण अनुदान रु ८ करोड ३९ लाख र संस्थाहरुसँगको साझेदारी कार्यक्रमको लागि रु १ करोड ५० लाख रकम विनियोजन भएको छ । वडाकालागि पूजिँगत योजनामा रु १ करोड ५० लाख विनियोजन भएको छ ।
निती तथा कार्यक्रम
रावा बेसी गाउँपालिकाले आगामि आर्थीक वर्ष २०७९/८० बाट गाउँपालिका भित्रका ४५ वर्ष माथिका विधुर पुरुषलाई भक्ता प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष फट्टिक कुमार श्रेष्ठले निती तथा कार्यक्रम गाउँसभामा पेस गर्दै विधुर पुरुषलाई भत्ता प्रदान गर्ने बताउनुभएको हो । यस्तै गाउँपालिकाले बालिका बचत कार्यक्रमको अवधारण पनि अघि सारेको छ ।
दुधकोशी जलविद्युत आयोजनालाई मध्यनजर राख्दै रावा बेसी गाउँपालिकाको रिङ रोडको अवधारण अघि सार्दै काम सुरु गर्ने, रावा बेसी गाउँपालिका मध्यपहाडि लोकमार्गसँग जोडिने विजुले–लेखर्क–दुवेकोल–ऐसेलुखर्क सडकको कालोपत्रेको काम यसै वर्षबाट सुरु गर्ने, कुभिण्डे–जौबारी–नुनथला सडक, विजुले–चिउरीवास–लामिडाँडा सडक, कुभिण्डे–हौँचुर–जालपा सडकको स्तरोन्नतीको कामलाई निरन्तरता दिने कार्यक्रमसँगै बजेटमा पनि उल्लेख गरिएको छ । निर्माणधिन वडाका पक्क िभवनको सम्पन्न गरिने भनिएको छ । कृषि क्षेत्रमा एक घर एक करेसा बारीको अवधारण अघि सारिने, सिंचाई सुविधा उपलब्ध नभएका ठाउँमा सिँचाईको व्यवस्था गरिने, माटो परिक्षण गरेर खेती गरिने, पशुपंक्षीमा लाग्ने रोग नियन्त्रणकालागि औषधि व्यवस्थापन, फलफुल तथा कृषी खेतीमा लाग्ने रोकको जरै देखि हटाउने प्रयास गरिने, पालिका स्तरिय हाटबजारलाई सञ्चालन, सबै वडामा पशुल्यावको व्यवस्था र चिस्यान केन्द्रलाई प्रयोगमा ल्याइने निती कार्यक्रममा उल्लेख छ ।
यस्तै, गाउँपालिकामा उत्पादित छालाको जुत्ता खाँडी तथा अन्य कपडाको विद्यालय पोशाक सवै विद्यालयमा लागु गरिने, दलित जेहेन्दार, विपन्न र बहुमुखि प्रतिभा भएका विद्यार्थी छनोट गरी प्राविधिक शिक्षाकालागि छात्रवृति प्रदान गरिने, वुहारी शिक्षा नीति लागु गरिने, पूर्णअपांग, अतिअशक्त, ८० वर्ष माथिका ज्यष्ठ नागरिक र प्रसुति हुन लागेका गर्भवती महिलालाई गाउँपालिका भरिका स्वास्थ्य सस्थामा जान निशुल्क एम्वुलेन्स सेवा प्रदान गरिने बताइएको छ । पालिका भरिका सवै नागरिकलाई स्वच्छ पिउने पानीको व्यवस्था गरिने, स्थानीय कला शैलीमा आधारित नमुना घरको डिजाइन गरी गाउँपालिका भरी नमुना घर निर्माण गरिने, लोपोन्मुख भाषा, धर्म, सस्कृतिको संरक्षण गरिने, कोटगढी र प्रिमाकोटगढीलाई पर्यटकीय स्थलको रुपमा विकास गरिने लगायतका निती तथा कार्यक्रम रावा बेसी गाउँपालिकाले अघि सारेको छ ।
गाउँसभाको फोटो फिचर





