
खोटाङ, असार १० । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ८६ करोड बढीको बजेट ल्याएको छ । आज सम्पन्न आठौं नगरसभामा उपमेयर विशन राईले ८६ करोड ३ लाख ७७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । विनियोजित कुल बजेटमध्ये चालू खर्चतर्फ ६१ करोड ३९ लाख ३६ हजार र पूँजीगत खर्चतर्फ २४ करोड ६४ लाख ४१ हजार छुट्याइएको छ ।
आगामी आर्थिक वर्षमा नगरपालिकाले किसानलाई हैरान बनाइरहेको बाँदर नियन्त्रण, घरघरमा विद्युतीय चुल्हो जडान, दिक्तेल बजार क्षेत्रमा फ्री वाइफाइको व्यवस्था, बेसहारा नागरिकको निःशुल्क स्वास्थ बीमा गर्नेलागायतका नीति अघि सारेको छ ।
दुई विधेयक र तीन प्रस्ताव सर्वसम्मत पारित
नगरसभामा पेश भएका सबै विधेयक र प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२, सोल्माका वडा अध्यक्ष ध्रुवविक्रम राईले पेश गर्नुभएको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक–२०७९, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाका वडा अध्यक्ष मुगाधन राईले पेश गर्नुभएको विनियोजन विधेयक–२०७९ सर्वसम्मत पारित भयो ।
यस्तै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका वडा अध्यक्ष दिनेशकुमार घिमिरेले पेश गर्नुभएको आगामी तीन आर्थिक वर्षको मध्यकालीन खर्च संरचना अनुमोदन सम्बन्धी प्रस्ताव, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका वडा अध्यक्ष इखबहादुर राईले पेश गर्नुभएको न्यायिक समितिको आव २०७८\०७९ को वार्षिक प्रतिवेदन सम्बन्धी प्रस्ताव र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलका वडा अध्यक्ष नवराज राईले पेश गर्नुभएको चालू आव २०७८\०७९ का केही बजेट, योजना तथा कार्यक्रमहरूको संशोधन गर्ने प्रस्ताव पनि सर्वसम्मत पारित भएको छ । नगरसभा मेयर तीर्थराज भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो ।
