
खोटाङ, असार २३ । हत्यारालाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले खोटाङ प्रहरीलाई सम्मान गरेका छन् । जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल सुनसरीको इटहरीमा बस्दैआउनुभएकी ७७ वर्षीय तुलसा खड्काको हत्या अभियोगका दोषीलाई चाडै पक्रिएको भन्दै मृतकका आफन्तले आज प्रहरीलाई सम्मान गरेका हुन् ।
गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै नातीले हजुरमालाई साथमा लिएर सुनसरीबाट २६ वैशााखमा खोटाङतर्फ हिँडेका थिए । तर नातीसँगै हिँडेकी तुलसाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेराको पानीटारस्थित सुनकोसी बगरमा खाल्डोभित्र शंकास्पद र सडिसकेको अवस्थामा फेला परेको थियो । घटना पश्चात फरार रहेका नाती निरबहादुर खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राविधिक सहयोगमा असार ८ गते झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नेपालभारत सिमा क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा पक्रिएर जिल्ला प्रहरी कार्यालय खोटाङले सार्वजनिक गरेको थियो ।
हजुरमाको हत्या गरेको भन्दै खड्का बिरुद्ध १८ जेठमा जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान सम्वन्धी किटानी जाहेरी दर्ता भएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा पारिवारिक बिवादका कारण खड्काले हजुरमाको हत्या गरेको खुलेकाले उनलाई पक्राउ गरी कानुनि प्रक्रिया अघि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी उमेश लम्सालले बताउनुभयो ।
जाहेरी परेको २१ दिनमा हत्यारालाई पक्रन सफल प्रहरीलाई मृतककी भतिजि लक्ष्मी सापकोटाले आज जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर दोसल्ला ओडाउदै सम्मानपत्रले सम्मान गर्नुभएको हो । नेपालमा घटेका कतिपय घटनामा संलग्न दोषी पत्ता नलागिरहेको अवस्थामा खोटाङ प्रहरीले चाडै अपराधि पक्राउ गरेर मृतकको आत्मालाई शान्ती हुने काम गरेको भन्दै सम्मान गरेको सापकोटाले बताउनुभयो ।
सम्मानपत्र लिदै डिएसपी लम्सालले नागरिक र प्रहरीको राम्रो समझदारी हुने हो भने समाजमा घटेका हरेक घटनाका दोषी चाडै पत्ता लाग्ने बताउनुभयो । उक्त घटनामा पनि नागरिकको राम्रो साथ मिलेका कारण दोषीलाई चाडै कानुनको कठघरामा ल्याउन प्रहरी सफल भएको उहाँको भनाइ छ ।
