
खोटाङ, असार २३ । हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुवात गरेको छ । नगरपालिकाको वडा नम्बर ३ च्यास्मिटारबाट यस कार्यक्रमको सुरुवात गरिएको हो । जसका लागि नगर प्रमुख विमलाई राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई नगद रु ५५ हजार समेत प्रदान गरिसक्नु भएको छ ।
अब बालविवाह रोक्न विद्यालयमा किशोरीहरुको समुह निर्माण हुनेछ । सोही समुहले बालविवाह रोक्न विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्नेछन् । “पहिले घरबाट दिएर बालविवाह हुन्थ्यो भने अहिले आफै भागेर बाविवाह गर्ने चलन बढिरहेको छ ।” नगर प्रमुख राईले भन्नुभयो, “त्यसैले अब बालविवाह रोक्नका लागि बालिकाहरु आफै सचेत हुनुपर्ने भएकाले उनिहरुकै नेतृत्वमा कार्यक्रम सुरु गरिएको हो ।” बालविवाह किन गर्न हुँदैन ? गर्दा कस्ता समस्या हुन सक्छन ? भन्ने विषयमा उनिहरु आफैमा चेतना हुन आवश्यक रहेकाले यस कार्यक्रम प्रभावकारी हुने प्रमुख राईको विश्वास छ ।
च्यास्मिटार माध्यमिक विद्यालयबाट परिक्षणका रुपमा सुरु गरिएको यस कार्यक्रम प्रभावकारी बनाउदै अन्य वडा एवं विद्यालयमा बिस्तार गर्दैजाने प्रमुख राईको भनाइ छ ।
विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ ।
