Thursday, April 16News That Matters

खोटाङका दिलिप खत्री प्रेस युनियनको केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने


खोटाङ, साउन ३ । नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनको केन्द्रिय सदस्यमा दिलिप खत्री उम्मेद्वार बन्नुहुने भएको छ । खोटाङमा बसेर १९ वर्ष लामो समय पत्रकारिता गर्नुभएका खत्री प्रेस युनियनको केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने पक्का भएको हो ।

संस्थापनपक्षबाट केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने संभावना बढी रहेको खत्रीले बताउनुभयो । खत्रीले भन्नुभयो, “म केन्द्रिय सदस्यको उम्मेद्वार बन्ने पक्का भइसकेको छ । सबै समुहसँग छलफल भइरहेपनि संस्थापन पक्षबाट मेरो उम्मेद्वार हुन्छ होला । सबैले खुल्ला सदस्यबाट चुनाव लड्न सुझाव दिइरहेका छन् । खुल्लाबाट हुने या भूगोलतर्फबाट उम्मेद्वार हुने टुंगो लागेको छैन ।”

संस्थागत सुदृढीकरण, पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास अभिवृद्धि, मर्यादित र व्यवसायिक पत्रकारिताको प्रवद्र्धनकालागि केन्द्रिय सदस्यमा आफ्नो उम्मेद्वारी रहेको खत्रीले बताउनुभयो । प्रेस युनियनको महाधिवेशन मकवानपुरको हेटौँडामा साउन ६ र ७ गते हुँदैछ ।

वि.स. २०६० सालबाट पत्रकारिता सुरु गर्नुभएका खत्रीको पत्रकारिताको क्षेत्रमा १९ वर्षको लामो अनुभव छ । ६० सालमा दिक्तेल बजार पाच्छिक पत्रिकाबाट सुरु भएको खत्रीको पत्रकारिता यात्रा अझै निरन्तर चलिरहेको छ । नेपाल टेलिभिजन, नेस्नल टेलिभिजन, अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक, द हिमालयन टाइम्स अङ्ग्रेजी पत्रिका, राष्ट्रिय समाचार समिति (रासस), रेडियो नेपाल लगायतका मिडियामा काम गरेको अनुभव खत्रीसँग छ । अहिले उहाँ खोटाङबाट सञ्चालन हुने खोटाङ खबर साप्ताहिक पत्रिकाको प्रकाशक सम्पादक, खोटाङ टुडे पत्रीकाको सम्पादक र रोदिक खबर डटकमको सम्पादकमा कार्यरत हुनुहुन्छ ।

वि.स. २०६२ देखि ६७ सम्म नेपाल पत्रकार महासंघ खोटाङको उपाध्यक्ष, ०६७ देखि ०७५ सम्म नेपाल प्रेस युनियन खोटाङको अध्यक्ष रहनु भएका खत्री अहिले नेपाल पत्रकार महासंघ खोटाङको अध्यक्ष हुनुहुन्छ ।