Thursday, April 16News That Matters

खोटाङमा अब बिरामीले रगत निशुल्क पाउने

फाइल तस्विर

खोटाङ, साउन १४ । खोटाङमा रगत निशुल्क पाइने भएको छ । रगत आवश्यक पर्ने बिरामीले जिल्लाका सबै स्वास्थ्य संस्थाबाट रगत निशुल्क पाइने व्यवस्था लागू भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोग र नेपाल रेडक्रस सोसाइटी खोटाङको व्यवस्थापनमा बिरामीलाई रगत निशुल्क गरिएको हो । नगरपालिकाले चालु आर्थीक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा रगत निशुल्क गर्ने घोषणा गरेको थियो । यस अघि १ पिन रगतको (३०० एमएलको १ पिन) ९ सय ५० रुपैयाँ लिने गरिएको नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्र बजिमयले बताउनुभयो । नगरपालिकाले आर्थीक व्यवस्थापन गरेसँगै साउन १ गतेबाटै रगत निशुल्क प्रदान गर्न थालिएको उहाँको भनाइ छ ।
“दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थीक सहयोगमा रगत निशुल्क प्रदान गर्न थालिएको हो । जिल्ला अस्पताल खोटाङमा मात्र नभएर जिल्लाका अन्य जुनसुकै स्वास्थ्य संस्थामा रगत आवश्यक परेमा रेडक्रसले रगत निशुल्क उपलब्ध गराउने छ । अहिले पनि सरकारी अस्पताल जिल्ला अस्पताल खोटाङसँगै सदरमुकाममै रहेको फ्यामली केयर निजि अस्पतालमा हामीले रगत उपलब्ध गराइरहेका छौँ ।” रेडक्रस मन्त्री बजिमयले भन्नुभयो ।

मन्त्री बजिमयका अनुसार खोटाङमा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा रगत अभाव भएन । जिल्ला अस्पताल खोटाङ स्थित रेडक्रस मार्फत सञ्चालित ब्लड बैंकमा १ सय २० पिन रगत संकलन गर्नसक्ने क्षमता रहेको छ । अघिल्लो वर्ष जम्मा १ सय ६ पिन रगत संकलन भएको थियो । जसमध्ये जिल्लामा ७१ पिन रगत प्रयोग भएको छ भने ३५ पिन रगत सुनसरी स्थित धरान र भक्तपुरमा पठाइएको छ । जिल्लामा विभिन्न संघ संगठनले रक्तदानको कार्यक्रमहरु आयोजना गरेर रगत जम्मा गर्ने गरिएको छ । रगत आवश्यक पर्ने बिरामीले लगाएको रगत जतीनै बिरामीका परिवारका सदस्यले रक्तदान गर्नुपर्ने व्यवस्था पनि रहेको मन्त्री बजिमयले सुनाउनुभयो ।

यस्तै, खोटाङका बिरामीलाई धरान, बिराटनगर र काठमाडौमा रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाइटी खोटाङलाई सम्पर्क गरेमा सजिलै रगत प्राप्त हुने रेडक्रस मन्त्री बजिमयले बताउनुभयो ।