Thursday, April 16News That Matters

संघीयता खारेजको माग गर्दै खोटाङमा राप्रपाका भातृ संगठनको प्रदर्शन


खोटाङ, साउन १८ । संघीयता खारेजको माग गर्दै बुधबार (आज) खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भातृ संगठनहरुले बिरोध प्रदर्शन गरेका छन् । संघीयताले भ्रष्ट्रचार मौलाएको, महङ्गी बढेको, देशको आर्थीक स्थिती खस्केको कारण संघीयता खारेज गर्नुपर्ने माग राख्दै राप्रपाको युवा, महिला र विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेको हो ।

राप्रपाको पार्टी कार्यालय दिक्तेल स्थित पुरानो बैंक चोकबाट कालो पट्टि बाँधेर नाराबाजीसहितको बिरोध प्रदर्शन किरात चोक (रत्नपार्क) मा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा राप्रपाको महिला संगठनका अध्यक्ष टिका खत्री, युवा संगठनका उपध्यक्ष प्रकाश थापा, विद्यार्थी संगठनका अध्यक्ष बिदेश राई र राप्रपाका जिल्ला अध्यक्ष ललित कुमार राईले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधन गर्दै युवा संगठनका उपाध्यक्ष थापाले देशको नेतृत्व अहिलेकै तरीकाले भइरहेने हो भने युवाहरु हतियार बोकेर आन्दोलनमा आउन बाध्य हुने बताउनुभएको छ । “दिनानुदिन देशको आर्थीक अवस्था खस्किरहेको छ, महंगीले डाँडा काटेको छ, शिक्षा स्वास्थ्य जस्ता संवेदनसिल क्षेत्र कमिसनको भरमा चलेको छ, देशको सिमाना छिमेकीले मिचिरहेको छ, तर सरकार आँखामा पट्टि बाँधेर बसेको छ । त्यसैले अब पनि देशको नेतृत्व गर्नेहरु नसुध्रिने हो भने युवाहरु हतियार बोकेर आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ ।” थापाले भन्नुभयो । यस्तै देशमा भ्रष्ट्रचार गरेर हालीमुहाली गर्ने ठुला भनाउदा पार्टीको सामु केही नभन्ने तर देशको पक्षमा बोल्ने राप्रपालाई सानो पार्टी भनेर प्रहरी प्रशासनले हस्तक्षेप गर्न खोजेर गल्ती गरिरहेको राप्रपा खोटाङका अध्यक्ष राईले बताउनुभयो ।

बिरोध प्रदर्शनमा संघीयता खारेज गर, किसानलाई समयमा मल दे, भ्रष्टाचार अन्त्य गर, बढ्दो महंगी नियन्त्रण गर, राष्ट्रहित विपरीत सन्धी सम्झौता खारेज गर लगातयको नारा लगाईएको थियो ।