Thursday, April 16News That Matters

प्रसूति व्यथाले गम्भीर वराहपोखरीकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार

सांकेतिक तस्विर

खोटाङ, साउन २२ । खोटाङमा प्रसूति व्यथाले स्वास्थ्य अवस्था गम्भीर बनेकी एक गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको छ । वराहपोखरी गाउँपालिका–१, भिरगाउँकी गर्भवती विष्णा मगरको आइतबार राष्ट्रपति महिला उत्थान कार्यक्रमको हवाई सेवाबाट खर्च व्यहोर्ने गरी उद्धार गरिएको हो ।

स्थानीय बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेर स्वास्थ्य अवस्था गम्भीर बनेकी उनलाई जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी हेलिकप्टर झिकाउन लगाएर भिरगाउँबाटै उद्धार गरिएको वराहपोखरी–१, वराहपोखरीका वडा अध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो ।
“बर्थिङ सेन्टरमा उहाँ सुत्केरी हुन सक्नुभएन । स्वास्थ्य अवस्था एकदमै नाजुक बन्दै गएको थियो,” वडा अध्यक्ष कार्कीले भन्नुभयो, “त्यसपछि तत्कालै गाउँपालिकाको स्वास्थ्य शाखालाई जिल्ला प्रशासनलाई पत्र लेखेर हेलिकप्टर झिकाउन भन्यौं र उहाँको उद्धार भयो।”
सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले गर्भवती मगरलाई हेलिकप्टरमार्फत उद्धार गरेर प्रसूति गृह, थापाथली, काठमाडौं पठाइएको जानकारी दिनुभयो ।