Thursday, April 16News That Matters

खोटाङमा सुरु भयो अक्सिजन उत्पादन

प्लान्ट उद्घाटन गरिदै

खोटाङ, साउन २३ । अक्सिजन लिन खोटाङबाट सिलिन्डर लिएर काठमाडौं र बिराटनगर जानु पर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्टको स्थापना भएसँगै उक्त समस्याको अन्त्य भएको हो ।

प्लान्ट सञ्चालनका लागि अहिले विद्युतको समस्या रहेको बायो मेडिकल टेक्निसियन उषा देवि श्रेष्ठले बताउनुभयो । “४ सय भोल्टेज भन्दा माथी विद्युतको आवश्यक पर्छ तर, सधै आवश्यक अनुसार भोल्टेज आउदैन । त्यसैले जेनेरेटर जडान गरिएको छ । अहिले अक्सिजन उत्पादनमा समस्या छैन ।” टेक्निसियन श्रेष्ठले भन्नुभयो । प्लान्टले एक दिनमा २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने उहाँको भनाइ छ ।

प्लान्ट निर्माणभएसँगै जिल्लामा अब अक्सिजनको कुनै समस्या नहुने जिल्ला अस्पताल खोटाङका प्रमुख डक्टर नितु लामाले बताउनुभयो । “यस अगाडि अक्सिजन लिन सिलिन्डर लिएर काठमाडौं, बिराटनगर जानुपर्ने बाध्यता थियो । कोरोना भाइरस (कोभिड–१९) फैलिएको समयमा अक्सिजनको चरम समस्या खेप्नु पर्यो । प्लान्ट निर्माण भएसँगै जिल्लामा आवश्यक अक्सिजन अब यहि उत्पादन हुन्छ । सिलिन्डर बोकेर अक्सिजन खोज्दै हिड्नु पर्ने खोटाङको बाध्यता सधैका लागि अन्त्य भएको छ ।” प्रमुख डक्टर लामाले भन्नुभयो ।

प्रदेश नम्बर १ सरकारबाट प्राप्त भ्याटसहित रु ९९ लाख रकमबाट सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको निर्माण गरिएको छ । प्लान्टको मेशीन जडान सम्पन्न पश्चात सोमबार जिल्ला अस्पताल खोटाङका व्यवस्थापन समिति अध्यक्ष एवं समन्वय प्रमुख सन बहादुर राईले उद्घाटन गर्नुभएको हो । अस्पतालको छेउमा छुट्टै भवन निर्माण गरेर प्लान्ट जडान गरिएको छ । हाल प्लान्ट राखिएको भवन एकतर्फ इटा र सामान्य कमसल तारजाली राखेर गुणस्तरहिन निर्माण गरिएको भन्दै प्रश्नसमेत उठेको थियो । अहिले भवनमा सिमेन्ट प्लास्टर गरिएको छ ।

दिक्तेलमा निर्माण भएको अक्सिजन प्लान्ट
दिक्तेलमा निर्माण भएको अक्सिजन प्लान्ट