Thursday, April 16News That Matters

जालपाका पहिरो पीडितलाई रेडक्रसको राहत, नगरले प्रत्येक परिवारलाई २० हजार दिने


खोटाङ, साउन २३ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१२ जालपाका १३ घर परिवारलाई नेपाल रेडक्रस सोसाइटी खोटाङले राहत प्रदान गरेको छ । गत असार १७ गते गएको पहिरोले बिस्तापीत परिवारलाई सोमबार जालपा वडाकार्यालयमा पुगेर रेडक्रसले गैर खाद्य सामाग्रीको सेट राहत प्रदान गरेको हो ।

पहिरोले घर बगाएका एवं घर उच्च जोखिममा परेका जालपाका ९ घरपरिवार अहिले घर नजिकै बारीमा वडाले प्रदान गरेको त्रिपाल टागेर बसिरहेका वडाध्यक्ष दान बहादुर राईले बताउनुभयो । पहिरोले बिस्तापीत भएका प्रत्येक ९ परिवारलाई १ थान त्रिपाल, २ थान कम्बल, १ थान भाँडा सेट, एउटा बाल्टिन, २ थान सारी, कपडा, डोरी, १ थान हाइजिन किट (सरसफाइका सामान) प्रदान गरिएको हो । बाकी सामान्य क्षति भएका चार परिवारलाई १ थान त्रिपाल प्रदान गरिएको रेडक्रस सभापति ज्ञानेन्द्र जोसीले बताउनुभयो । राहत पाउनेमा जालपास्थित साबालुङ, खरबारी, घलेगाउँ, लम्बर्खुका स्थानीयहरु रहेका छन् ।

पहिरोले बिस्तापित पारेको लामो समय भएपनि जालापा—हुर्लुङ सडकखण्ड अबरुद्ध हुँदा राहत पुराउन ढिला भएको सभापति जोसीको भनाइ छ । यस्तै रेडक्रसले प्रदान गरेको राहत वितरण गर्न जानुभएका नगर प्रमुख तिर्थराज भट्टराईले उच्च जोखिममा परेका ९ परिवारलाई रु २० हजार र सामान्य जोखिममा परेका ४ परिवारलाई रु ५ हजारका दरले राहत प्रदान गर्ने घोषणा गर्नुभएको छ । नगरपालिकाले बजेट सञ्चालन गर्ने अधिकार पाएपश्चात नगद प्रदान गरिने उहाँको भनाइ छ ।

राहत वितरण गर्न नगर प्रमुख भट्टराई, रेडक्रस सभापति जोसीसँगै, नगर उपप्रमुख विसन राई, प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुर्य प्रसाद सेडाई, जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) उमेश लम्साल, रेडक्रस मन्त्री छत्र बजिमय लगायतको टोलीले जालपा पुगेको हो ।