
खोटाङ, साउन २४ । खोटाङमा पुनः कोरोना भाइरस (कोभिड—१९) देखिन थालेको छ । सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा गरिएको ५८ जनाको एन्टिजेन परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये ३६ प्रतिशतमा संक्रमण देखिएको हो ।
जिल्ला अस्पताल खोटाङका प्रमुख डक्टर नितु लामाका अनुसार हिजोसम्म गरिएको ४४ जनाको परीक्षणबाट १५ जनामा संक्रमण देखिएको थियो । मंगलबार (आज) १४ जनाको परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनिहरुलाई होम आइसोलेशनमा राखिएको ड. लामाले बताउनुभयो ।
कोरोनाको लक्षण देखिनथालेपछि जिल्ला अस्पतालसँगै स्थानीय तहहरुमा पनि कोरोना परीक्षण सुरु भएको छ । सबै स्थानीय तहको तथ्यांक भने आउन बाकी रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनुभयो ।
देशभर ५ हजार बढी सक्रिय संक्रमित
नेपाल भर पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ जनाले ज्यान समेत गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन् ।
