
खोटाङ, साउन २४ । खोटाङमा १२ सय बढी नयाँ मतदाता थपिएका छन् । स्थानीय निर्वाचन पश्चात असार १ गतेदेखि साउन १९ गतेसम्म सञ्चालन भएको मतदाता अभियानमा १२ सय ७६ जना नयाँ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय खोटाङ बजार र ऐँसेलुखर्कबाट उक्त नयाँ मतदाताले नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।
सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामवली संकलन स्थगित भएको उहाँको भनाइ छ । नयाँ मतदाता थपिएकासहित जिल्लामा १ लाख ४५ हजार २८ जना मतदाता भएका छन् । एक संघीय र दुई प्रदेश सभा रहेको यस जिल्लामा १ सय ३६ मतदान स्थल र १ सय ९४ मतदान केन्द्र रहेका छन् । पालिकाहरुबाट ४ मतदान स्थल थप गर्ने प्रस्ताव आएपनि प्राविधिक कारणले नयाँ मतदान स्थल थप नभएको सूचना अधिकारी राईले बताउनुभयो ।
