Thursday, April 16News That Matters

खोटाङमा सम्बन्ध विच्छेद गर्ने बढे, मूख्य कारण गरिबी

सांकेतिक तस्विर

खोटाङ, साउन २० । खोटाङमा सम्बन्ध विच्छेद गर्नेहरु दुई वर्षको अन्तरालमा दोब्बरले बढेका छन् । आर्थीक वर्ष २०७६÷०७७ को तुलनामा गत आर्थीक वर्ष २०७८/०७९ मा सम्बन्ध विच्छेद गर्नेहरु दोब्बरभन्दा बढीले बढेका हुन् ।

जिल्ला अदालत खोटाङको तथ्याङ्क अनुसार आर्थीक वर्ष २०७६/०७७ मा ७० वटा मुद्दा परेका थिए । जसमा ३५ वटा मुद्दा फछ्र्यौट भएको छ । आर्थीक वर्ष २०७७/०७८ मा सम्बन्ध विच्छेद गर्ने भन्दै १ सय ६ जनाले मुद्दा दिए । जसमा ३४ वटा फछ्र्यौट भएको छ । जिल्लामा सम्वन्ध विच्छेद गर्नेहरुको संख्या हरेक वर्ष बृद्धि भइरहेको छ । गत आर्थीक वर्ष २०७८/०७९ मा यो संख्या ह्वात्तै बढेको छ । विभिन्न कारण देखाउदै सम्बन्ध विच्छेद सम्बन्धि १ सय ८४ मुद्दा दर्ता भएका छन् । जसमध्ये १ सय ३८ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत खोटाङको प्रशासन शाखामा कार्यरत नायब सुब्बा सोनाम श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अदालतमा उक्त आर्थीक वर्षमा सबै भन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा आएको उहाँको भनाइ छ ।
सम्बन्ध विच्छेदको मुख्य कारण गरिबी देखिएको छ । भने अनुसारको खान लाउन नपाएको भन्दै अधिकांश महिलाहरु सम्मन्ध विच्छेत गर्न अदालत पुगेको पाइएको छ । यस्तै, माधक पदार्थ सेवन, झैझगडाका कारण पनि समवन्ध विच्छेद हुने गरेका छन् । कतिपयपयको घरेलु हिंसाका कारणपनि सम्बन्ध बिग्रिने गरेको छ । कतिपय सम्बन्ध एक वर्ष पनि टिक्न नसकेको पाइएको छ । बिहे गरेको केही समयमै सम्बन्ध विच्छेद गर्न जोडिहरु अदालत पुग्ने गरेको श्रेष्ठले बताउनुभयो । २० वर्षको उमेर समुहका जोडिहरुले पनि सम्बन्ध विच्छेद गरेका छन् भने ४५ वर्ष सम्मका जोडिहरु छुट्टिन अदालतसम्म पुग्ने गरेका छन् ।

एक वर्षमा ४ सय ४८ मुद्दा दर्ता 

गत आर्थीक वर्ष २०७८/०७९ मा जिल्ला अदालतमा विभिन्न शिर्षकमा ४ सय ४८ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये २ सय ६९ मुद्दा फछ्र्यौट भएका छन् भने १ सय ७९ मुद्दा बाँकी रहेको अदालतको तथ्याङमा उल्लेख छ । सम्बन्ध विच्छेदमा १ सय ८४, अंशवण्डामा ३६, अपुताली सम्बन्धि १, जग्गा सम्बन्धि २, लेनदेन सम्बन्धि १६, लिखत बदर सम्बन्धि १३, मानाचामल सम्बन्धि ११, भूमि सम्बन्धि १ वटा मुद्दा दर्ता भएका छन् । राज्य बिरुद्धको कसूर १, हात हतियार तथा खरखजना १४, बहुबिबाह ७, बालबिबाह १, कर्तव्य ज्यान १३, ज्यान मार्ने उद्योग १२, आत्महत्या गर्ने दुरुत्साहन १, जवरजस्ती करणी १६, हाडनाता करणी ११, जवरजस्ती करणी उद्योग १०, बाल यौन दुरुपयोग सम्बन्धि ८ मुद्दा परेका छन् ।
यस्तै, चोरी तथा डाका कसूरमा २३, ठगी २, अपराधिक प्रवेश ४, पशुपंक्षी सम्बन्धी कसूर ५, नागरिकता कसूर १, लागुऔषध सम्बन्धि कसूर ४, सवारी ज्यान वा अंगभंग १६, कुटपिट वा अंगभंग ८, जालसाजी ५, लुटपीट १, गाली बेइज्जती सम्बन्धि कसूर १६ र चेक अनादर सम्बन्धि ४ वटा मुद्दा जिल्ला अदालत खोटाङमा आएको अदालतको तथ्याङ्कमा उल्लेख गरिएको छ । गत आर्थीक वर्ष भरीमा अदालतमा आएका ६० प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् ।