Wednesday, April 15News That Matters

हलेसी तुवाचुङका सामुदायिक विद्यालयले विद्यार्थीबाट कुनै पनि शुल्क लिन नपाउने

हलेसी तुवाचुङ नगरपालिका

खोटाङ, साउन २६ । नेपालको संविधान २०७२ को भाग ३, धारा (३१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने व्यवस्था उल्लेख गरिएको छ । तथापी सामुदायिक विद्यालयहरुले विभिन्न बहानामा शुल्क उठाउने गरेका छन् ।

यसै सिलसिलामा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कुनै पनि बहानामा शुल्क नलिने निर्णय गरेको छ । सरकारी विद्यालयले विभिन्न बहानामा शुल्क असुल्ने गरेको अभिभावकले गुनासो गरेपछि नगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ । निजि शिक्षकलाई तलब दिने बहानामा पनि विद्यालयहरुले विद्यार्थीबाट शुल्क असुल्ने गरेका छन् । सामुदायिक विद्यालयमा माध्यामिक तहसम्मको शिक्षा पुर्णरुपमा निशुल्क गर्नेगरी चालु आर्थीक वर्ष २०७९/८० मा नगरपालिकाले रु १७ लाख बजेट विनियोजन गरेर (जेरो फि) कार्यक्रम लागू गरेको छ ।

माध्यमिक १२ वटा, कक्षा १–८ आधारभुत १३ वटा र कक्षा १–५ आधारभुत ६४ वटा गरी हलेसी तुवाचुङ नगरपालिकामा ८९ वटा सामुदायिक विद्यालय रहेका छन् । भर्ना शुल्क, परिक्षा शुल्क लगायतका कारण देखाउदै विद्यालयहरुले नियमबिपरित शुल्क लिएको भन्दै अभिभावकले नगरपालिकालाई गुनासो गरेका शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले बताउनुभयो । अभिभावकको गुनासोलाई मध्यनजर गर्दै संविधानमा उल्लेख गरिएको कुरालाई व्यवहारमा कार्यन्वयनकालागि नगरपालिकाले (जेरो फि) कार्यक्रम लागू गरेको मेयर विमला राईले बताउनुभयो । “जेरो फि कार्यक्रमकालागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । विद्यालय तह, विद्यार्थी संख्या र आवश्यकताका आधारमा नगरपालिकाले विद्यालयलाई बजेट उपलब्ध गराउने छ । कक्षा ४–९ का लागि वार्षिक परिक्षामा आवश्यक उत्तरपुस्तिका र प्रश्नपत्र, चारित्रिक र लव्धाङक प्रमाणपत्र नगरपालिकाले नै उपलब्ध गराउने छ । त्यसैले विद्यालयले विद्यार्थीबाट कुनै पनि शुल्क लिन पाउने छैन । यदि लिएको पाइएमा कारवाहिको दायरामा ल्याइने छ । ” मेयर राईले भन्नुभयो । एसईईको अनिर्वाय राजस्व भने विद्यार्थीले दिनुपर्ने छ ।

प्रविधिमा विद्यालय

सामुदायिक विद्यालयहरुलाई प्रविधिसँग जोड्ने योजना नगरपालिकाले अघि सारेको छ । विद्यालयलाई आवश्यक र जनशक्तिका आधारमा कम्प्युटर, फोटोकपि मेसिन, उपलब्ध गराएर सञ्चालन गर्ने तालिमसमेत नगरपालिकाले दिने कार्यक्रम चालु आर्थीक वर्षमा रहेको शिक्षा शाखा संयोजक कार्कीले बताउनुभयो । नगरपालिका विद्यालयलाई पेपर लेस बनाउने अभियानमा रहेकाले सबै विद्यालयमा इन्टनेटसमेत पुराइसकिएको उहाँको भनाइ छ । प्रत्येक विद्यालयमा सिसिटिभि जडान गरेर नगरपालिकाले त्यस्को निगरानी गर्ने व्यवस्थासमेत लागू गर्ने तयारीमा नगरपालिका रहेको छ । यस्तै शैक्षिक गुणस्तरका लागि आवश्यकताका आधारमा नगर शिक्षक नियुक्ती, दरबन्दी समायोजन, विद्यालय थपघटसमेत गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।

अंग्रेजी माध्यमबाट पढाइ

हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमबाट अध्ययन गराउने योजना अघि सारेको छ । नगरपालिकाले यो वर्षबाट १२ वटा माध्यमिक विद्यालयको कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरुसमेत गरेको जनाएको छ । जसकालागि नगरपालिकाले नै पुस्तकहरु खरिद गरेर विद्यालयलाई उपलब्ध गराएको छ । अर्को वर्षबाट क्रमैसँग अन्य कक्षा र अन्य विद्यालयहरुमा पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराउदै जाने मेयर राईले बताउनुभयो ।

सबै कक्षाका परिक्षा एसईई जस्तै

नगरपालिकाले कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा (एसईई) जस्तै गर्नेभएको छ । विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परिक्षण गर्दा विद्यार्थीको सही मुल्याङकन हुन नसकेको भन्दै नगरपालिकाले (एसईई) जस्तै परिक्षा सञ्चालन गरिने निर्णय गरेको सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १ बाहुनिडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताउनुभयो । कक्षा १ देखि ९ सम्मकालागि नै प्रश्नपत्र नगरपालिकाले तयार गर्नेछ । परिक्षाको समयमा पनि हरेक विद्यालयमा फरक विद्यालयका शिक्षक परिक्षा नियन्त्रक बनाएर परिक्षा सञ्चालन गरिने छ भने उत्तरपुस्तिका पनि नगरपालिकाकै मातहतमा परिक्षण हुने उहाँको भनाइ छ ।

स्थानीय भाषाको संरक्षण

नगरपालिकाले स्थानीय भाषाको संरक्षणका लागि स्थानीय पाठ्यक्र निर्माण गरेर चाम्लिङ र तिलुङ भाषाको पठनपाठन सुरु गरेको छ । तिलुङ भाषा नेपालकै लोपोन्मुख भाषा समेत हो । नगरपालिकाले वडा नम्बर ३ च्यास्मिटारका विद्यालयहरुमा तिलुङ भाषाको पठनपाठन सुरु गरेको छ । ऐच्छिक विषयका रुपमा १०० पुर्णाङ्कको तिलुङ भाषाको पुस्तक औपचारिक रुपमा नै पठनपाठन सुरु भएको हो ।
यस्तै अन्य वडाहरु ५,६,७,८,९,१० र ११ मा स्थानीय पाठ्यक्रमका रुपमा चाम्लिङ भाषा पढाइ हुने भएको छ । उक्त भाषा पढ्न नचाहानेले अन्य विषय पनि पढ्न पाउने मेयर राईले बताउनुभयो । पुराना पुस्ताको अन्त्यसँगै भाषा तथा संस्कार–संस्कृति पनि अन्त्य भएर जाने अवस्था आएको कारण भाषा संरक्षणकालागि स्थानीय पाठ्यक्रममा राखेर विद्यालयमै पठनपाठन सुरु गरिएको उहाँको भनाइ छ । भाषाका पुस्तक र शिक्षक पनि नगरपालिकाले व्यवस्थापन गरिसकेको मेयर राईले बताउनुभयो ।