
खोटाङ, साउन ३० । १ करोड ३६ लाख रकम ठगी गरेको अभियोगमा खोटाङका एक युवा पक्राउ परेका छन् । नेदरल्याण्ड पठाइदिन्छु भन्दै युवाहरुबाट रकम लिएर ठगी गरेको अभियोगमा खोटाङको वराहपोखरी गाउँपालिका–५, पौवासेराका प्रकाश राई काठमाडौंबाट पक्राउ परेका हुन् ।
खोटाङ घर भएका राई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा रहेर ह्युमन रिसोर्स प्रालि सञ्चालन गर्दै आएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले आइतबार साँझ कोटेश्वरबाट पक्राउ गरेको हो । विदेशमा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर १ करोड ३६ लाख बढी रकम ठगी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले १६ जना व्यक्तिहरूलाई वर्किङ भिजामा नेदरल्याण्ड जानको लागि प्रतिव्यक्ति १६ लाख रुपैयाँ लाग्छ, पानीजहाजको सिम्यानको रूपमा काममा लगाइदिन्छु, सुरुमा मासिक ७५ हजार रुपैयाँ तलब हुन्छ भन्ने प्रलोभन देखाइ उनीहरूबाट १ करोड ३६ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
ठगीपछि सम्पर्कविहीन उनलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले पत्राचार गरेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीको भनाइ छ ।
