Thursday, April 16News That Matters

एमालेका कारण प्रदेश एकको नाम राख्न सकिएन : खानेपानी मन्त्री राई


खोटाङ, भदौ २ । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेश नम्बर एकका खानेपानी सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ) ले अहिलेको सरकारको कार्यकाल भित्र प्रदेशको नाम जुर्न कठिन रहेको बताउनुभएको छ । प्रेस सेन्टर खोटाङले बिहिबार (आज) दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री राईले नेकपा एमालेका कारण एक नम्बर प्रदेशको नाम राख्न नसकिएको आरोप लगाउनुभएको छ । पहिले नेकपाको सरकार हुँदा दुई तिहाइ भएपनि एमालेको नेतृत्वले नाम राख्न आनाकानी गरेको उहाँको आरोप छ । ‘प्रदेश एकमा शेरधन राईको नेतृत्वमा नेकपाको सरकार हुँदा दुई तिहाई थियो, प्रदेशको नाम पास गर्न कुनै समस्या थिएन तर एमालेको नेतृत्वले आनाकानी गरेपछि प्रदेशको नाम राख्न सकिएन ।’ मन्त्री राईले भन्नुभयो ।

पहिचानसहितको नाम राख्न अहिलेको गठबन्धन सरकार लागि परेपनि एमाले कोशी प्रदेश भन्दा अरुमा सहमतिमा नआएपछि प्रदेशको नाम राख्न नसकिएको मन्त्री राईको भनाइ छ । मन्त्री राईले भन्नुभयो, ‘गठबन्धनको सरकारसँग दुई तिहाइ छैन, नाम पास गर्न एमालेको साथ चाहिन्छ तर एमाले कोशी राख्ने भन्दा अरु कुरै गर्दैन । प्रदेशको नाम भूगोल र नदिको नामबाट भन्दापनि पहिचानका आधारमा राख्नु पर्ने हाम्रो माग छ र आवश्यकता पनि त्यहि हो । त्यसैले एमालेका कारण यो सरकारको कार्यकालमा प्रदेशको नाम करिब नटुंगिने पक्का जस्तै छ ।’

नाम राख्न असफल भएपनि प्रदेश एक सरकारले धेरै राम्रा र महत्वपुर्ण कामको थालनी गरेको उहाँको भनाइ छ । केही कामहरु पुरासमेत भएको मन्त्री राइले बताउनुभयो । संविधान र देशमा भएको सकारात्मक परिवर्तन जोगाइराख्न अहिलेको गठबन्धन बनेको उहाँको भनाइ छ ।