Thursday, April 16News That Matters

शुभशेर राई स्मृति प्रतिष्ठानलाई परिवारको १६ लाख ९० हजार, ५ जना सम्मानित


खोटाङ, भदौ ५ । सोर्गीय शिक्षक शुभशेर राईको परिवारले शुभशेर राई स्मृति प्रतिष्ठानलाई रु १६ लाख ९० हजार ९ रुपैयाँको चेक हस्तान्त्रण गरेको छ । राईको वार्षिक पुण्य तिथिको अवसरमा आइतबार (आज) जिल्ला समन्व समितिको हलमा कार्यक्रमको आयोजना गरेर परिवारका सदस्यबाट उक्त रकम प्रतिष्ठानलाई हस्तान्त्रण गरिएको हो ।

वि.स. २००७ सालमा जन्मनुभएका स्व. शिक्षक राईको वि.स. २०७८ साल भदौ ५ गते निधन भएको थियो । ४३ वर्ष लामो समय शिक्षण पेशामा आबद्ध राई नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो । स्व. राईको जेठा छोरा देव विक्रम राई अध्यक्ष रहनेगरी शुभशेर राई स्मृति प्रतिष्ठानको स्थापना गर्दै गत साउन ३० गते जिल्ला प्रशासनमा दर्ता गरिएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष कुमार पराजुलीले जानकारी दिनुभयो । प्रतिष्ठानलाई आज परिवारका सदस्यहरुले रकम संकलन गरेर स्व. राईकी श्रीमती जम्मासरी राईको हातबाट हस्तान्त्रण गरिएको छ । उक्त रकमबाट ११ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष निर्माण हुनेछ । अन्य रकमबाट विभिन्न गतिविधि गरिने प्रतिष्ठानले जनाएको छ । स्व. शिक्षक राईको परिवारका १९ सदस्यहरुले आफ्नो कमाईको ० दशमलव ५ प्रतिशत प्रतिष्ठानलाई दिने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङको समन्वयमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय महासचिव हंस बहादुर साही रहनुभएको थियो । विशेष अतिथिको रुपमा नेकपा एमालेका जिल्ला अध्यक्ष राम प्रसाद दंगाल, दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, निवर्तमान मेयर दिपनारायण रिजाल लगायत रहनुभएको थियो ।
५ जना सम्मानित

शुभशेर राई स्मृति प्रतिष्ठानले शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने ५ जनालाई सम्मान गरेको छ । उत्कृष्ट शिक्षकारुपमा सावाकटहरे स्थित एक विद्यालयमा कार्यरत शिक्षक प्रेम कुमार थापालाई रु ५५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

यस्तै, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ज्योती माध्यमिक विद्यालय जालपाका अध्यक्ष प्रतिमान राई, दिर्घसेवी सेवा प्रदान गर्नेमा दिक्तेलका शारदादेवी गेलाल, उत्कृष्ट शिक्षक नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका पूर्व अध्यक्षहरु मेगनाथ घिमिरे र मनकाजी राई, उत्कृष्ट प्रधानाध्यापकमा त्रिभुवन माध्यमिक विद्यालय ऐसेलुखर्कका प्र.अ. टेक बहादुर क्षेत्री प्रमाणपत्रले सम्मानित हुनुभएको छ ।