
खोटाङ, भदौ २० । खोटाङका ९७ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । ५–११ वर्ष उमेर समुहका बालबालिका जिल्लामा करीब २५ हजार २ सयको संख्यामा रहेका छन् । जसमध्ये २४ हजार ५ सयले कोरोना विरुद्धको पहिलो मात्रा टि. फाइजर खोप लागाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
खोप केन्द्र तोकिएका खोटाङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थामा भदौ ५ देखि ७ गतेसम्म बालबालिकालाई कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । उक्त समयमा जिल्लाका अधिकांश बालबालिकाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका फोकल पर्सन जीवन चौलागाईँले जानकारी दिनुभयो ।
‘कतिपय बालबालिका अध्ययनकालागि जिल्ला भन्दा बाहिर गएका छन्, उनिहरुले उतैबाट खोप लगाउछन् । जिल्लामा रहेका ५–११ वर्ष उमेर समुहका सबै बालबालिकालाई हामीले खोप लगाउन सफल भएका छौँ ।’ चौलागाईँले भन्नुभयो । पहिलो मात्रा लगाएको २१ दिनपश्चात दोस्रो मात्राको खोप दिने तयारी रहेको उहाँको भनाइ छ ।
