
दावा जाङबु शेर्पा
ओखलढुंगा, भदौ २५ । सिङ्गानेदेखि साम्सिङ भञ्ज्याङसम्मको मानेहरु पुनर्निमाण गरिने भएको छ । पिके सोलुखुम्बु टाप्टिङ्ग समाज सेवा काठमाडौंले उक्त क्षेत्रका मानेहरु पुनर्निमाण गर्ने जनाएको छ ।
सिङ्गानेदेखि साम्सिङ भञ्ज्याङको बिचमा पर्यटन मार्गमा पर्ने थुप्रै ऐतिहासिक धार्मिक महत्व बोकेका मानेहरु छन् । पुराना भएका कारण पछिल्लो समय उक्त मानेहरु जीर्ण भएका छन् । पुराना र जीर्ण मानेहरुको संरक्षणकालागि पुनर्निमाण गर्न लागिएको समाजका महासचिव अम्बर तामाङले जानकारी बताउनुभयो ।
माने बौद्ध धर्मावलम्बीहरुको धार्मिक आस्थाकोरुपमा मानिन्छ । माने निर्माण सामुहिक योगदानमा मानवको रक्षा र शान्तिको कामनासहित प्रायः सार्वजनिक ठाउँमा निर्माण गरिने चलन छ । साधारण भाषामा बुझ्दा एक प्रकारको चौतारी हो, जहाँ बौद्ध धर्मावलम्बीले घुमेर पुज्ने र विश्राम गर्ने गर्छन् । माने निर्माण गर्दा योगदान गर्नेहरुको नाम ढुंगामा मन्त्रसहित लेख्ने चलनसमेत छ । माने भित्र भित्र बहुमूल्य धातु तथा आस्थाका वस्तु राखिन्छ भने माने भत्काउन वा उत्खनन् गर्ने पाइदैन ।
