
सुबास दर्नाल
सोलुखुम्बु, भदौ २९ । सोलुखुम्बुको गार्मामा निर्माणाधिन पर्वतिय प्रतिष्ठानको कार्यलाई गति दिन माग गर्दै सोलुदुधकुण्ड नगरपालिका ७ गार्माले नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानको ध्यानार्कषण गराएको छ । बजेट अभावमा वर्षौदेखि निर्माण कार्यले गतिलिन नसकेको तथा गुरुयोजना अनुसार काम नभएकाले बजेट व्यवस्थापन गरि गुरुयोजना अनुरुप अघि बढाउन मन्त्रालयलाई ४ बुँदे माग पत्र पेस गरिएको हो ।
सोमबार वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा जनप्रतिनिधि र सरोकारवालाहरुसँग बसेको बैठकले काममा अत्यन्तै ढिला सुस्ती भएकाले कामको गतिलाई बढाई पर्वतिय कलेज गार्मामा नै सञ्चालन गर्न माग गर्दै माग सहितको ध्यानार्कषण पत्र नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्र प्रसाद चौलागाईलाई ध्यानाकर्षणपत्र पेस गरिएको छ । माग पत्रमा नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठान स्थापना पश्चात प्रतिष्ठानसँग सम्बन्धित गतिविधिलाई संचालन गर्न निर्माण भएको गुरुयोजना बमोजिम हाल सम्मको भौतिक प्रगतिको सम्बन्धमा स्थानीय सरकार तथ आम जनताहरुलाई सुसुचित गरिनुपर्ने तथा गुरु योजना बमोजिमको काम हुनुपर्ने, कार्यको ढिलासुस्तिको अन्त्य गरि चाडो कार्य अगाडी बढाउने माग गरिएको छ । निर्माण स्थल क्षेत्रको गतिविधिको निगरानी तथा स्थानीयको समस्यालाई सुनुवाई गर्न नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानमा केन्द्रीय बोर्ड सदस्यमा स्थानीयहरुको तर्फबाट एक जना केन्द्रीय बोर्ड सदस्य अनिर्वाय रहने नितिगत व्यवस्था गर्न माग गरिएको छ ।
प्रतिष्ठानले हाल नेले–सल्लेरी सडक खण्डको दक्षिण तर्फको क्षेत्र अब्यवहारिक ढंगबाट अतिग्रहण गरेको नागरिकबाट गुनासो आएकाले सडकबाट उत्तर तर्फको क्षेत्र मात्रै अतिग्रहण गरि मुआब्जा वितरण गर्न बाँकी रहेकाहरुलाई समेत वितरण कार्य सम्पन्न गर्न माग गरिएको छ । र अव्यवहारिक ढंगबाट भएको अतिग्रहणका कारण कतिपय नागरिकहरु सुकुम्बासी हुने अवस्थामा पुगेकाले मागलाई गहन ढंगबाट लिन समेत आग्रह गर्दै हाल काठमाण्डौबाट सञ्चालित पर्वाताहोरण कक्षा सोलुखुम्बुबाट सञ्चालन गर्न माग गरिएको छ । नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रुद्र प्रसाद चौलागाईले स्थानीयको माग सम्बोधनका लागि आफु तयार रहेको बताए । जसका लागि आफु काठमाण्डौँ फर्किए लगत्तै प्रकृया सुरु गरि कामलाई गति दिन आवश्वासन दिए ।
२० बर्ष देखि सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा निर्माणाधिन पर्वतिय प्रतिष्ठानको संरचना निर्माणको प्रगति ३० प्रतिशत मात्रै छ । ४७ वटा भवन निर्माण हुनुपर्नेमा हालसम्म ७ वटा मात्रै भवन निर्माण भएको पर्वतिय प्रतिष्ठान सोलुखुम्बुका इन्जिनियर भक्तराज जोशीले बताए । २ हजार ९ सय रोपनी क्षेत्रफलमा पिकनिक रिसोर्ट, बहुउदेश्यीय हल लगायतका भौतिक संरचना बनाउने उदेश्य राखिएको छ । केन्द्र सरकार मातहतमा निर्माण भईरहेको प्रतिष्ठानका संरचना बजेट अभावमा निर्माणले गति लिन नसकेको प्राविधिकहरुको भनाई छ । हालसम्म करिब २३ करोडको लागतमा प्रशासनिक भवन, होस्टल, क्लास रुम, पुस्तकालय भवन, यतिको प्रतिमा निर्माण गरिएको छ ।
प्रतिष्ठानको संरचना निर्माणका लागि बार्षिक २ करोड निकासा हुँदै आएको छ । भौतिक संरचनाले पुर्णता नपाउँदा पर्वतारोहण अध्ययन गर्ने विद्यार्थीको लागि समस्या भएको नेपाल माउण्टेन एकेडेमीका विद्यार्थी पासाङ नुरु शेर्पाको भनाई छ । सन् २००२ देखि सुरु गरिएको संरचना निर्माणको प्रगति र रफ्तार हेर्दा निर्माणले पुर्णता पाउन नसक्दा सो विषयका विद्यार्थीहरु काठमाण्डौँमा अध्ययन गर्न बाध्य भएको उनीहरुले बताएका छन् ।

