Thursday, April 16News That Matters

लैनसिं बाङ्देलको प्रतिमा स्थापना गर्ने किरात राई यायोक्खा खोटाङको घोषणा

घोषणापत्र प्रस्तुत गर्नुहुँदै नवनिर्वाचित अध्यक्ष राई

खोटाङ, असोज ६ । किरात राई यायोक्खा खोटाङले चर्चित साहित्यकार लैनसिं बाङ्देलको प्रतिमा स्थापनासँगै स्मृति पार्क निर्माण गर्ने भएको छ । बिहिबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै यायोक्खाले नयाँ कार्य योजना प्रस्तुत गरको हो । जसमा बाङ्देलको प्रतिमा स्थापनासँगै स्मृति पार्क निर्माण गर्ने योजना पनि यायोक्खाले बनाएको घोषणा गरिएको छ ।

नाछिरिङ राई थर भएका लैनसिंह बाङ्देलको पुख्र्यौली थलो ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङदेलमा पर्छ । जिल्ला सदरमुकाम दिक्तेलमा करीब ६७ सालतिर साहित्यकार लैनसिं बाङदेलको प्रतिमा राख्ने भनेर ल्याइएको थियो । तर भित्र्याइएको सात वर्षसम्म पनि प्रतिमा राख्न कसैले वास्ता नगरेपछि पुख्र्यौली घर राखाबाङदेलमा आफन्तले लगेको बुझिएको छ । अहिले किरात राई यायोक्खाले सदरमुकाममा प्रतिमा स्थापन गर्ने घोषणा गरेको छ । कहाँ स्थापना गर्ने भन्ने विषयमा सरोकारवाला निकायसँगको छलफल पश्चात टुंगीने नवनिर्वाचित अध्यक्ष जमानशेर राई (युगसन)ले बताउनुभयो ।

बुधबार जिल्ला अधिवेशन गरेर नयाँ कार्य समिति चयन गरेको यायोक्खाले अन्य योजनाहरु पनि अघि सारेको छ । एक नम्बर प्रदेशलाई किरात प्रदेश नामाकरण गर्नका लागि व्यापक जनदवाव सिर्जना गर्ने, किरात राईहरुको भाषा, संस्कृति, परम्परा तथा पहिचान जनित स्थानहरु संरक्षण गर्ने, किरात मुन्दुम, भाषा, संस्कार, संस्कृति, परम्परा र इतिहासका जानकारलाई अध्ययन अनुसन्धानको लागि उत्प्रेरित गर्ने घोषणा पत्रमा लेखिएको छ ।

यस्तै, किरात राईहरुको बाहुल्यता रहेको स्थानहरुमा सञ्चालित विद्यालयहरुमा तत् तत् स्थानमा बोलिने मातृ भाषाहरुमा अध्ययन अध्यापन गर्ने, गराउने, राईहरुको सांस्कृतिक कला, साहित्य, भेषभूषा, खानपानको संरक्षण, संवर्द्धन र विकास गर्दै गराउदै पर्यटनसँग जोड्ने, लोक सेवा आयोग तयारी कक्षा सञ्चालन आयोजना गरी अधिकतम् सरकारी सेवामा प्रवेश गर्ने वातावरण सिर्जना गर्ने, किरात राईको सांस्कृति मूल्य मान्यताका आधारमा व्यवस्थित भवनहरु निर्माण गर्ने, किरात राईका बालबालिकाहरुको नाम आफ्नो मातृ भाषावाट राख्ने अभियान तदारुकताका साथ संचालन गर्ने योजना यायोक्खाले अघि सारेको छ ।

यस्तै, किरात राई यायोक्खामा आवद्ध जिम्मेवार व्यक्तिहरुसँगै सबै राईहरुले थरमा ’राई’ लेख्न / लेखाउन उत्प्रेरित गर्ने, किरात पहिचानको पक्षधरलाई निर्वाचनमा सघाउने लगायतको योजना यायोक्खाले बनाएको यायोक्खाले पत्रकार सम्मेलन गरेर जनाएको छ ।

हेर्नुहोस यायोक्खाको घोषणापत्र