Thursday, April 16News That Matters

खेलाडीहरुको स्तर उन्नतिकालागि वडाद्धारा तालिम सञ्चालन


खोटाङ, असोज १० । रावा बेसी गाउँपालिका–१ कुभिण्डेका खेलाडीहरुको स्तर उन्नतीका लागि वडाले तालिम सञ्चालन गरेको छ । वडा भित्रका करीब ३० जना पुरुष भलिबल खेलाडीहरुलाई वडाको आयोजनामा तालिम सञ्चालन भएको हो ।

असोज १ गतेबाट सुरु भएको तालिम अझै केही दिन सञ्चालन हुने वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभयो । ‘खेल क्षेत्रबाटै खेलाडीहरुले केही गर्न सकुन भन्ने हाम्रो चाहाना हो । त्यसैले विज्ञबाट केही कुरा सिकाउन सक्यौँ भने उनिहरुको क्षमता बढ्छ र माथिल्लो स्थानमा पुग्न सक्लान भनेर तालिमको आयोजना गरेका छौँ ।’ राईले भन्नुभयो ।

गाउँकै एक विद्यालयको प्राङगणमा सञ्चालन भइरहेको तालिमको सहजिकरण नारायण काजी राईले गरिरहनुभएको छ । यसरीनै तालिम दिदै बेलाबेलामा वडामा खेल प्रतियोगिताको आयोजना गरेर खेलाडीहरुको मनोबल बढाउनुका साथै स्तर उन्नतिकोलागि वडा सधै लाग्ने वडाध्यक्ष राईले बताउनुभयो ।

रावा बेसी– ३ लामिडाँडामा गाउँपालिकाको आयोजनामा यहि असोज १३,१४ र १५ गते पालिका भित्रका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुँदैछ । प्रथम, दोस्रो, तेस्रो र चौथो हुने समुहलाई क्रमस ७० हजार, ४५ हजार, २५ हजार र १० हजार नगदका साथमा शिल्ड, मेडल प्रमाणपत्र प्रदान गरिने गाउँपालिका अध्यक्ष फट्टिक कुमार श्रेष्ठले बताउनुभयो ।