
खोटाङ, असोज २३ । माओवादी केन्द्र खोटाङ जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डेले प्रतिगामी शक्तिको भण्डाफोर गर्न गठबन्धन एक भएर जाने बताएका छन् । नेपाली कांग्रेसले छुट्टै स्वातन्त्र उम्मेद्वार दर्ता गराएपनि २६ गते भित्रमा फिर्ता लिनेगरी छलफल भइरहेको पाण्डेले बताएका हुन् ।
पाण्डेले भने, ‘हाम्रो दुश्मन भनेको एउटै हो, त्यसैले हामीले एक भएर हिड्नुको बिकल्प छैन् । सिटको भागबन्डा माथीबाटै भएको हो, गठबन्धनको आधिकारीक उम्मेद्वार विरुद्ध स्वतन्त्र उम्मेद्वार दिएपनि हामी छलफल गरिरहेका छौँ । हाम्रो छलफल ७५ प्रतिशित सकारात्मक भएको छ, बाकी रहेका असन्तुष्टहरु चाडै समाधान हुनेछ, उम्मेद्वारी फिर्ता हुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’ एउटै आवाज लिएर एउटै मञ्चबाट जनताको घरमा गठबन्धन पुग्ने संयोजक पाण्डेको भनाइ छ ।
सत्ता गठबन्धनको शीर्षस्थ निर्णय अनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको छ । यस्तै, प्रदेश सभा ‘क’ एकीकृत समाजवादी र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । जसअनुसार प्रतिनिधि सभामा नेकपा माओवादीका पोलिटब्युरो सदस्य रामकुमार राई (पासाङ)ले उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश सभा ‘क’ मा नेकपा एकीकृत समाजवादीका नेता वीरवलकाजी राई र प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका प्रदेश एक महामन्त्री भुपेन्द्र राईले उम्मेद्वारी दर्ता गराएका हुन् ।
यता, छुट्टै नेपाली कांग्रेसका पूर्व राज्यमन्त्री र पूर्व जिल्ला सभापति स्वतन्त्र उम्मेद्वार उठेका छन् । सत्ता गठबन्धन बिरुद्ध नेपाली कांग्रेसले खोटाङमा छुट्टै उम्मेद्वारी गर्दै पूर्व राज्यमन्त्री सर्वधन राईलाई प्रतिनिधि सभाको उम्मेद्वार र पुर्व जिल्ला सभापति एवं महाधिवेशन प्रतिनिधि सुबास पोखरेललाई प्रदेश सभा ‘क’ को उम्मेद्वार बनाएको छ ।
जिल्ला सभापतिदेखि पूर्व सभापतिहरु महाधिवेशन प्रतिनिधिहरुको उनिहरुलाई साथ रहेको छ । सिट बाँडफाँडमा खोटाङ कांग्रेसलाई अन्याय गरेको भन्दै संघ र प्रदेश सभा ‘क’ मा कांग्रेसले स्वतन्त्र उम्मेद्वार दर्ता गराएको हो । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लामा एक प्रदेश सभा मात्र आफ्नो भागमा परेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो ।
केन्द्रको उक्त निर्णयप्रति आपत्ति जनाउदै जिल्लाका कांग्रेसका शीर्षस्थानका नेताहरुले केन्द्रीय समितिलाई पत्र पठाएका थिए । प्रदेश ‘क’ मा कांग्रेसकै अर्का महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलले पनि उम्मेद्वारी दर्ता गराएका छन् । प्रदेश सभा ‘ख’ मा भने गठबन्धनबाट कांग्रेसकै भुपेन्द्र राईले टिकट पाएर उम्मद्वार दर्ता गराएकाले कांग्रेसले स्वतन्त्र उम्मेद्वार दिएको छैन् ।
प्रतिनिधि सभा र एक प्रदेश सभा अर्थात दुवै प्रदेश सभाको दावी गर्दै आएको खोटाङ कांग्रेसले एक प्रदेश सभा मात्र भागमा पाएपछि बिद्रोह गरिएको जिल्ला सभापति विष्णुकुमार राईले बताए । स्थानीय तहको चुनावमा सबै भन्दा ठुलो पार्टी बनेको कांग्रेसलाई एक प्रदेश सभामा मात्र सिमित राख्नु ठुलो अन्याय भएको सभापति राईको भनाइ छ । खोटाङ कांग्रेसको इतिहास बचाउन, आफ्नो मत सुरक्षित गर्न छ्ट्टै उम्मेद्वारी दिन बाध्य भएको उम्मेद्वारहरुको भनाइ छ ।
