Thursday, April 16News That Matters

केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्दै

गाउँपालिका अध्यक्ष समिर राई

खोटाङ, असोज २५ । खोटाङको केपिलासगढी गाउँपालिकाले खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश स्तरीय छनोटमा विजयी भएका गाउँपालिकाभित्रका खेलाडीलाई पुरस्कृत गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष समिर राईका अनुसार प्रदेश छनोटको विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार खेलाडीहरुको प्रोत्साहनका लागि कुनै खेलकुद कार्यक्रमको अवसर पारेर पुरस्कृत गरिने राईको भनाइ छ ।

प्रदेश स्तरीय छनोटमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका दिर्पा बस्नेतले एथलेटिक्स र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका मोहन राईले तेक्वान्दोमा स्वर्ण पदक जितेका छन् ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकै नविन र्राइले किङ फाईटमा र महिला भलिबलमा केपिलासगढी गाउँपालिका–७ सुङदेलका शिखा कोयी राई, केपिलासगढी गाउँपालिका–६ दिप्सुङका रङगुना राई र अनुकला राई तथा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका विनिता राईले रजत पदक जितेकी छन् ।

यस्तै, तेक्वान्दोमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका विवेक राई, बाक्सिलाकै रेजिना राई र सोही ठाउँका समला राईले पनि रजत पदक जितेका छन् । १६ भदौदेखि ३० भदौसम्म सुनसरी र झापामा प्रदेश स्तरीय छनोट भएको थियो ।