Thursday, April 16News That Matters

खोटाङ : प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा ८/८ जना, प्रदेशसभा ‘ख’ मा ६ जना चुनाव भिड्दै


खोटाङ, असोज २६ । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनमा खोटाङको ३ पदकालागि २२ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ मा ८/८ जना, प्रदेशसभा ‘ख’ मा ६ जना चुनावी मैदानमा उत्रिएका हुन् ।

बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामवली अनुसार जिल्लामा २२ जना उम्मेद्वारहरु कायम रहेका हुन् । प्रतिनिधि सभामा ९ जनाको उम्मेद्वारी दर्ता भएकोमा पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सर्वधन राईले दिएको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएसँगै ८ जनाको प्रतिस्पर्धा हुने भएको हो ।

जिल्लाबाट प्रतिनिधिसभामा गठबन्धनबाट (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’, नेकपा एमालेबाट विशाल भट्टराई, जनता समाजवादी पार्टी(जसपा)बाट डा. कृष्णकुमार राई ‘केके’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट दीपक मगर, आमुल परिवर्तन मसिहा पार्टीबाट चन्द्रमणि राई र स्वतन्त्रबाट जयन्द्रकुमार राई गरी ८ जनाको प्रतिस्पर्धा हुनेभएको छ ।

प्रदेशसभा ‘क’ मा ९ जनाको उम्मेदवारी दर्ता भएकोमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेलले दिएको स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएसँगै ८ जनाको प्रतिस्पर्धा हुनेभएको छ । गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी) का वीरबलकाजी राई, नेकपा एमालेबाट पाँचकर्ण राई ‘पिके’, जनता समाजवादी पार्टीबाट राकेश राई, नेपाल मजदुर किसान पार्टीबाट केशव राई, नेकपा (माले)बाट पदमप्रसाद आचार्य, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई, स्वतन्त्रबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेल र स्वतन्त्रबाटै कुमारप्रसाद भट्टराई गरी ८ जनाको प्रतिस्पर्धा हुनेभएको हो ।

यस्तै, प्रदेशसभा ‘ख’ मा ६ जनाको मनोनयन दर्ता भएकोमा ६ जनाकै उम्मेद्वारी कायम भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका भूपेन्द्र राई, नेकपा एमालेबाट रामप्रसाद दंगाल, जनता समाजवादी पार्टी जसपाबाट प्रेमकुमार राई, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवाश राई र मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट विमला राई गरी ६ जनाको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।