Thursday, April 16News That Matters

बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

खोटाङ, असोज २९ । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । खकलुङ युनाइटेड क्लब बास्पानीको आयोजनामा कात्तिक–४ गतेबाट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा जिल्ला भरीका क्लब र खेलाडीले मात्र सहभागि जनाउन पाउने आयोजकले जनाएको छ ।

काक्तिक ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो र दोस्रो हुने समुहले रु ३० हजार र रु २० हजार, सेमिफाइनलिस्ट दुई समूहलाई रु १०÷१० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष प्रताप राईले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिनफिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँको भनाइ छ ।

प्रतियोगितामा सहभागी हुने समूहका लागि रु तीन हजार ९९९ दर्ता शुल्क तोकिएको र प्रतियोगितामा १५ समूह सहभागी हुने अनुमान गरिएको आयोजकले जनाएको छ । चन्दा सङ्कलनबाट आयोजना गरिएको प्रतियोगिताका लागि अनुमानित रु दुई लाख ५० हजार बजेट लाग्ने अनुमान गरिएको आयोजकले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

खुला पुरुष फुटबल प्रतियोगिताको उद्घाटन १ नं. प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजन राईले गर्नु हुने जनाइएको छ । फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रमको अवसरमा गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

तिहारको अवसर पारेर आयोजना गरिएको फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा गायक पदम राई र राकेश किराँतीको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।