Thursday, April 16News That Matters

थर्पुचोकस्थित बीच सडकमा ढल फुट्दा सवारी साधनसँगै स्थानीयलाई सास्ती

ढल फुटेको ठाउँमा अनुगमन गर्दै मेयर भट्टराई

खोटाङ, असोज २९ । जिल्ला अस्पताल–दोर्पा दुम्ली सडक खण्ड अन्तरगत थर्पुचोकस्थित बीच सडकमा ढल फुट्दा सवारी साधनसँगै स्थानीयलाई सास्ती भएको छ । सडकको बीचबाट बाहिर कटाएको ढल फुट्दा सवारी साधन वारपार गर्न र हिड्डुल गर्न समस्या भएको स्थानीयले बताएका छन् ।

करीब ५ मिटरको चौडाइ रहेको उक्त सडकको ३ मिटर जती भाग फुटेको छ । बीचमा गाडीको टायर राखेर सवारी साधान वारपार गर्ने गरिएको छ । पशुचौपाय हिड्डुल गर्दा धेरै पटक खुट्टा अड्किएर चोटसमेत लागेको स्थानीयहरुको भनाइ छ । बिशेषगरी बालबालिकालाई उक्त स्थानमा जोगाउन कठिन हुनेगरेको स्थानीय हिरालाल रिजाल बताउनुहुन्छ ।

ढल निर्माण गर्नेदेखि प्राविधिकसम्मको कम्जोरीको कारण निर्माण भएको २ वर्षमै ढल फुटेको स्थानीय राधिका आचार्यको आरोप छ । ढल निर्माण गर्दैगर्दा स्थानीयहरुको असन्तुष्टि रहेको पाइएको छ । धान, कोदो लगायतका उब्जा हुने ठाउँमा ढल कटाइदा स्थानीयले असन्तुष्टि जनाएका हुन् । केही समय अघि ढल फुटेर कोदोमा क्षति पुगेको स्थानीय रमेश प्रसाद आचार्यको गुनासो छ । ‘न खोला छ, न खोल्सा छ यहाँ, सिधै उब्जा हुने खेत बारीमा सडकको ढल कटाएर कोदो नष्ट भएको छ । नजिकै बाख्राको खोर छ मेरो, केही समय अघि ढल फुटेर राती बाख्रा झन्नै बगायो, राती २ बझे उठेर बल्लबल्ल बाख्रा बचाँए ।’ आचार्यले भन्नुभयो ।

ढल फुटेर क्षति गरेको कोदो

ढल फुटेर स्थानीयले सास्ती भएको गुनासो गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले शनिबार बिहान अनुगमन गर्नुभएको छ । ढल निर्माण गर्दा कमसल सामाग्री प्रयोग गरिएका कारण उक्त समस्या सिर्जना भएको देखिएको मेयर भट्टराईको भनाइ छ । ढल निर्माण गर्दैगर्दा मापदण्ड बिपरीत निर्माण भएको देखिएको पनि उहाँको भनाइ छ । जता उकालो सडक छ उतै ढल लगेको देखिन्छ भने सडकको भिक्तामा निर्माण गरिएको ढलमा पोलेथिन पाइपको प्रयोग भएको पनि देखिन्छ ।

स्थानीयहरुको समस्यालाई सम्बोधन गर्दै मेयर भट्टराईले आवश्यक प्रक्रिया एवं बजेट व्यवस्थापन गरेर चाडै उक्त समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

ढल भित्र प्रयोग गरिएको पाइप