
खोटाङ, कात्तिक १४ । नेपाली कांग्रेस एक नम्बर प्रदेशका महामन्त्री एवं खोटाङ प्रदेशसभा ‘ख’बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार भुपेन्द्र राईले एमालले चुनाव जितेका कारण विकासमा खोटाङ १० वर्षले पछि परेको आरोप लगाउनुभएको छ । आइतबार नेर्पामा भएको गठबन्धनको संयुक्त बैठक एवं उम्मेद्वार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राईले यस्तो बताउनुभएको हो ।
‘एमालेका विशाल भट्टराईलाई जनताले चुनाव जिताएर खोटाङ विकासमा दश वर्षले पछि पर्यो, त्यो छुट अब जिल्लाका जनतालाई छैन्, यहाँका अग्रजहरुलाई त्यस्तो छुट छैन् । जिल्लाको विकासकालागि वाम–लोकतान्त्रिक गठबन्धनको बिकल्प अरु हुन सक्दैन ।’ राईले भन्नुभयो ।
घरघरमा ग्यासको पाइप पु¥याउने, रेल कुदाउने लगायतका झुटा आश्वासन बाडेर एमालेले चुनाव जितेको राईको भनाइ छ । एमालेले चुनाव जित्दा देशमा विकास भन्दा पनि केपी ओलीको तानाशाह मात्र आएको राईको आरोप छ । ‘२०७४ सालको चुनावमा एमालेले देशैभर चुनाव जित्यो, होलात अब विकास गर्छौँ भनेका छन् गर्लान भन्ने सोच्यौँ, तर विकास भन्दा पनि ओली तानाशाह आएर जनतालाई दुख दिने काम मात्र भयो । हुनत आफ्नै पार्टीको भिम रावल, घनश्याम भुषाल जस्ता नेताले न्याय नपाएको पार्टीले जनतालाई सुख कहाँ दिन सक्थ्योर ।’ राईले भन्नुभयो ।
नेपाली कांग्रेस र नेकपा माओवादी पार्टी देशमा परिवर्तन ल्याउन खुकुरी बोकेर आएको तर एमाले कुर्सीमा बस्न मात्र आएको राईको भनाइ छ । त्यस्ता कुर्सीमा बस्न मात्र आएका, नेपालमा पुनः तानाशाही प्रवृति ल्याउन आएका पार्टी आगामी मंसिर ४ को आम चुनावबाट सधैका लागि विदा हुने राईको ठहर छ । राईले भन्नुभयो, ‘हामीले राणा शासन फाल्यौँ, पञ्चायत व्यवस्था, राजतन्त्र फाल्यौँ तर नेपालमा पुनः तानाशाह ल्याउन खोज्ने एमालेलाई मंसिर ४ को चुनावमा फाल्छौँ, एमालेरहित देश बनाउछौँ, गठबन्धनले बनाउछ ।’
