
खोटाङ, कात्तिक १४ । खोटाङमा बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन ऐसेलुर्खक गाउँपालिकामा तीनै दल एक ठाउँमा उभिएका छन् । प्रदेशसभा ‘क’ मा कांग्रेसबाट धर्मराज पोखरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता गराएर कांग्रेसका केही नेताले स्वतन्त्र उम्मेद्वारलाई भोट मागिरहेपनि ऐँसेलुखर्क गाउँपालिकामा भने तीनै दल एक ठाउँमा उभिएका हुन् ।
गठबन्धन घटक दलले विभिन्न समितिहरु गठन गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन मुल निर्वाचन, आर्थिक, आमसभा व्यवस्थापन र चुनाव प्रचारप्रसार समिति गठन गरेको हो ।
ऐसेलुखर्क बजारमा सोमबार नेपाली कांग्रेसका सभापति रमेश गुरुङको अध्यक्षता र कांग्रेस महाधिवेशन प्रतिनिधि तथा निवर्तमान गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला, नेकपा माओवादी केन्द्रका पालिका इन्चार्ज श्री बहादुर राई र नेकपा एकीकृत समाजवादी पार्टीका पालिका इन्चार्ज कृष्णचन्द्र श्रेष्ठसहितको बैठकले विश्वनाथ निरौलाको संयोजकत्वमा ११ सदस्यीय मुल निर्वाचन परिचलान समिति गठन गरेको छ ।
समितिको सह–संयोजकमा श्री बहादुर राई, सदस्यमा कृष्णचन्द्र राई, श्रीम बहादुर राई, खगेन्द्र बन, रमेश गुरुङ, मोहन राई, अगम सिंह राई, प्रेम लामा, प्रविण राई र हरेराम राजभण्डारी छन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि लोकेन्द्र राजभण्डारीको संयोजक र एकिकृत समाजवादीका तेज राई सह–संयोजक रहने गरी चुनाव प्रचारप्रसार समिति पनि गठन गरिएकोे छ । उक्त समितिमा तिन वटै राजनीतिक दलका सबै नेता, कार्यकर्ता सदस्य हुनेछन् ।
माओवादी केन्द्रको पालिका इन्चार्ज श्री बहादुर राई संयोजक र एकिकृत समाजवादीका पालिका इन्चार्ज कृष्णचन्द्र श्रेष्ठ सह–संयोजक रहने गरी चार सदस्यीय आर्थिक समिति गठन गरिएको छ । सदस्यमा नन्दीकेशर वन र हरेराम राजभण्डारी छन् ।
यस्तै, आगामी २० गते ऐसेलुखर्कमा हुने आमसभामा सबै वडाबाट उल्लेख्य मात्रामा जनमास उपस्थित गराउन र आमसभा व्यवस्थापन गर्न रमेश राजभण्डारीको संयोजकत्वमा ७ सदस्यीय आमसभा व्यवस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यमा रमेश दाहाल, शुक्र विक, सरोज राजभण्डारी, होम तामाङ, रोशन राजभण्डारी र हजुरमणी राई छन् ।
बैठकले गठबन्धनको साझा उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउन गठबन्धन घटक दल एक भएर लाग्ने निर्णय गरेको छ । गठबन्धनबाट प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई पासाङ, प्रदेश ‘क’ मा नेकपा एसका बीरबलकाजी राई र प्रदेश ‘ख’ मा कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राई उम्मेदवार छन् ।
गठबन्धन दलको संयुक्त परिपत्र


