Friday, April 17News That Matters

दिक्तेल–खानिडाँडा–रेग्मीटार सडक चाडै सञ्चालनमा आउने, स्तरोन्नतीको काम धमाधम

सडक अनुगमनमा नगर प्रमुख भट्टराई, उपप्रमुख राई, सिडियो सेडाई लगायत

खोटाङ, कात्तिक १५ । दिक्तेल–खानिडाँडा–रेग्मीटार सडक चाडै सञ्चालनमा आउने भएको छ । दिक्तेलबाट तराई जाने छोटो दुरीको उक्त सडकको ट्रयाक खोलिएपनि हाल सडक सञ्चालनमा छैन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट सडक ठप्प रहेको छ ।

सडक सञ्चालनमा ल्याउन नगरपालिकाले विनियोजन गरेको रु ४० लाख बजेटले हाल सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ । नगरपालिकाको गौरवको योजनामा रहेको उक्त आहाले रेग्मीटार सडकको मंगलबार नगर प्रमुख तिर्थराज भट्टराई, उपप्रमुख विसन राई, प्रमुख जिल्ला अधिकारी (सिडियो) सुर्य प्रसाद सेडाई, प्राविधिक लगायतको समुहले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा प्रमुख भट्टराई र उपप्रमुख राईले जति सक्दो चाडो सडक स्तरोन्नती गरेर सवारी साधन गुड्न सक्ने बनाउने बताउनुभएको छ । सोही अनुसार काम गर्न उपभोक्ता समितिलाई उहाँहरुले निर्देशन पनि दिनुभएको छ ।‘ यो सडकलाई जति सक्दो चाडो हाल सवारी सधान गुड्न सक्ने बनाउने छौँ । बिस्तारै थप मजबुध एवं पक्की बनाउन बजेटको व्यवस्था गर्ने छौँ, त्यसको स्रोत खोज्ने छौँ ।’ प्रमुख भट्टराईले भन्नुभयो ।

यस्तै उक्त सडकखण्डमा पर्ने दिखुवा खोलामा पक्की पुल निर्माणका लागि पनि पहल भइरहेको प्रमुख भट्टराईको भनाई छ । खानिडाँडा रेग्मीटार सडक सञ्चालनमा आउदा जिल्ला सदरमुकामबाट रेक्मीटार जान करीब २ घण्टा छिटो हुने अनुमान गरिएको छ । जसले गर्दा तराईका जिल्लामा आवतजावत गर्न सहजता आउनुका साथै खाद्यन्य लगायतका सामान ढुवानीमा पनि सस्तो हुने उपप्रमुख राईको भनाइ छ ।

दिक्तेलबाट आहालेसम्मको सडक कालोपत्रकालाभि भने २०७५ सालमै ढेक्का लागिसकेको छ । तर कालोपत्रको काम अलपत्र जस्तै छ । उक्त सडकको कालोपत्रको काम चाडै अगाडी बढाउन निर्माण कम्पनीलाई दबाब दिइरहेको नगरपालिकाले जनाएको छ ।