Friday, April 17News That Matters

खोटाङ कांग्रेस : माओवादीसँग छलफल गर्न कार्यदल गठन, सहमतिको प्रयास गरिने

जिल्ला पार्टी कार्यालय दिक्तेलमा बसेको कांग्रेसको बैठक

खोटाङ, कात्तिक १६ । नेकपा माओवादी केन्द्रसँग छलफल गर्न नेपाली कांग्रेस खोटाङले कार्यदल गठन गरेको छ । गठबन्धनमा उत्पन्न विवाद छलफलबाट अन्त्यका लागि जिल्ला उप–सभापति इवन राईको संयोजकमा कार्यदल गठन गरिएको कांग्रेसले जनाएको छ ।

तीन सदस्य कार्यदलमा संयोजक राईसँगै महाधिवेशन प्रतिनिधि विश्वनाथ निरौला र मनोज तिमिल्सीना रहनुभएको छ । उक्त कार्यदलले माओवादीसँग छलफल गरेर आगामी निर्वाचनमा कसरी जाने भन्ने विषयको निष्कर्ष निकाल्ने कांग्रेस सभापति विष्णुकुमार राईले बताउनुभयो ।‘हाम्रो आजको छलफलले कार्यदल गठन गरेको छ । जिल्ला कार्यसमितिसहित प्रदेशसभा ‘क’ का सबै नेता कार्यकर्ताको उपस्थितिमा भएको छलफल अनुसार कार्यदल बनेको हो । उक्त कार्यदलले माओवादीसँग छलफल गर्ने छ । छलफलबाट आएको निर्णय अनुसार हामी अगाडी बढ्ने छौँ ।’ सभापति राईले भन्नुभयो ।

गठबन्धनको भागबण्डामा खोटाङ प्रदेशसभा ‘क’ एकीकृत समाजवादीले भाग पाएसँगै कांग्रेसले असन्तुष्टि जनाउदै आएको छ । प्रतिनिधिसभासँगै प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेद्वार दिएको कांग्रेसले प्रतिनिधिसभामा भने फिर्ता लिएको छ । प्रदेशसभामा धर्मराज पोखरेलको उम्मेद्वारी कायमै छ भने पार्टी सभापति राईसहित कांग्रेसका अधिकांश नेता कार्यकर्ता पोखरेलको चुनाव चिन्ह धारामा भोट मागिरहेका छन् । प्रदेशसभा ‘ख’ मा गठबन्धन एक ढिक्का देखिएको छ, तर ‘क’ मा गठबन्धनमा विवाद देखिन्छ । सोही विवाद अन्त्यका लागि भन्दै कांग्रेसले कार्यदल गठन गरेको छ ।

कार्यदलले प्रदेशसभा ‘क’ मा माओवादीले पनि कांग्रेसका उम्मेद्वार पोखरेललाई धारामा भोट हाल्नु पर्ने र प्रतिनिधिसभामा कांग्रेसले माओवादीलाई भोट हाल्ने गरी सहमतिको प्रयास गर्ने बुझिएको छ । सभापति राईले भन्नुभयो,‘ हाम्रो प्रयास अर्थात कार्यदलको प्रयास भनेको कांग्रेसले प्रदेशसभा ‘क’ मा धारामा भोट हाल्न पाउनुपर्छ भन्ने हो । कांग्रेसलाई धारामा भोट हाल्न माओवादीले खुला छाडोस् र माओवादीका मतदातालाई पनि भोट हाल्न स्वतन्त्र छाडोस् । एसका उम्मेद्वार पनि कायम रहनुहुन्छ, हाम्रो उम्मेद्वार पनि कायम हुनुहुन्छ, तर मतदातालाई स्वतन्त्र छाडौँ । यसरी सहमती गर्न सकिन्छ ।’

कार्यदलले मंसिर ३ गतेसम्म पनि उचित निर्णय गर्न प्रयास गर्ने तर प्रयास नभएमा भोट छरपस्ट हुने र कसले जित्ने भन्ने टुंगो नहुने सभापति राईको भनाइ छ ।

जिल्ला पार्टी कार्यालय दिक्तेलमा बसेको कांग्रेसको बैठक