Friday, April 17News That Matters

दिक्तेल : निर्वाचन कार्यालय अगाडिको सडक ढलान धमाधम, हेलिप्याडसम्म सडक पुग्दै

सडक अनुगमन गर्दै मेयर तिर्थराज भट्टराई वडाध्यक्ष नवराज राई लगायत

खोटाङ, कात्तिक १७ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडक ढलान कार्य धमाधम भइरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट लोकसेवा र निर्वाचन कार्यालय हुँदै जिल्ला अस्पताल जाने सडकको ढलान कार्य धमाधम भइरहेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहनेगरी विनियोजन गरेको आर्थीक वर्ष २०७९/८० को रु ५६ लाख ६४ हजारमा उक्त सडक ढलान भइरहेको हो । ३० पौषमा सम्पन्न गर्नेगरी २६ असोजमा सम्झौता भएको सडक ढलानको हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रकाश थापाले बताउनुभयो । सोही रकमले अल्छेढुंगाबाट अस्पतालसम्मको सडकमा बिग्रीएको ठाउँमा सोलिङ पनि गर्नुपर्ने छ ।

यस्तै, सोही रकमले लोकसेवा कार्यालय अगाडिबाट जनता समाजवादी पार्टीको कार्यालय हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडिसम्मको सडकको ट्रयाक खोलिने, हेलिप्याडसम्म सडक पु¥याइने अध्यक्ष थापाले बताउनुभयो । सम्झौता अनुसार १ सय ३७ घनमिटर सडक ढलान हुनेछ । उक्त कार्य करीब १५ दिन भित्रमा सम्पन्न हुने उहाँको भनाइ छ । हाल धमाधम ढलान भइरहेको सडक अनुगमनको क्रममा गुणस्तरीय रहेको वडा नम्बर एकका वडाध्यक्ष नवराज राईले बताउनुभयो ।

दिक्तेल बजार बिचको सडक ढलानको कार्य भइरहेकाले उक्त सडकमा सवारी साधन आवतजावत बन्द छ । तसर्थ जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालय लगायतका कार्यालयमा आवतजाव गर्न लोकसेवा अगाडिको सडक प्रयोग हुँदै आएको थियो । तर सडक कच्ची एवं हिलाम्मे हुँदा धेरै पटक मोटरसाइकल, टेम्पो लगायतका सवारी साधन दुर्घटना भएको स्थानीयको भनाइ छ । सडक ढलान भएपछि सवारीसाधन आवतजावतमा सहज हुने उनिहरुको भनाइ छ ।