
खोटाङ, कात्तिक १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निशुल्क आँखा शिविर सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई र उपमेयर रमेशकुमार राउतले उद्घाटन गरेसँगै सुरु भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ । शिविरमा निशुल्क आँखा जाँच हुनेछ भने मोतिबिन्दु पहिचान भएमा निशुल्क शल्यक्रिया गरिनेछ । आवश्यक अनुसार चस्मा ससुल्क र औषधी निशुल्क प्रदान गरिने आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा मोतिबिन्दुसँगै आँखामा मासु पलाएको, मासुको डल्ला पलाएको र परेलाको भाग भित्र छिरेको पनि शल्यक्रिया मार्फत निशुल्क उपचार हुनेछ । कोभिड–१९ सुरु हुनु भन्दा अगाडि गरिएको घरदैलो कार्यक्रममा मोतिबिन्दु पहिचान भएका १८ जना, एक वर्ष अगाडिदेखि केन्द्रमा परिक्षण गर्न आउनेहरु १९ जना, केही समय अगाडि भएको ज्येष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रममा १६ र च्यास्मीटारमा भएको कार्यक्रममा पहिचान भएका ११ जनाको शिविरमा निशुल्क शल्यक्रिया हुने प्रमुख श्रेष्ठले बताउनुभयो ।
शिविरमा हलेसी तुवाचुङ नगरपालिकासँगै छिमिकी पालिकाहरु दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावा बेसी गाउँपालिकाका बिरामीहरु पनि आएका छन् । शिविरको पहिलो दिन आज २३ जनाको शल्याक्रिया मार्फत उपचार भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । १७ जना मोतिबिन्दु पहिचान भएको, ५ जना सामान्य आँखामा मासु पलाएकाको शल्याक्रिया गरिएको उहाँको भनाइ छ । एक जना बच्चाको बेहोस बनाएर शल्याक्रिय मार्फत उपचार गरिएको छ । श्रेष्ठको भनाइ अनुसार बच्चाले नमान्ने भएकाले बेहोस बनाएर शल्यक्रिया गर्ने गरिन्छ ।

